सरकारले सुन तस्करी छानबिनको जिम्मा साआईबीलाई दिने
प्रकाशित मिति
२०८० श्रावण १९ गते, शुक्रबार १२:३६
१९ श्रावण २०८०, काठमाडौँ: सरकारले एक सय किलो सुन तस्करी प्रकरण छानबिनको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई दिने तयारी गरेको छ । प्रहरीलाई बाइपास गरेको भन्दै आलोचना बढेपछि सरकारले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेको हो ।
यसअघि सुन तस्करी प्रकरणलाई प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले हेरिरहेको थियो । गृहमन्त्रीसँगै सुरक्षा निकायका उच्च अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेका हुन् । साउन २ गते विमानस्थल बाहिरबाट मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बरामद सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।
यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।
प्रतिकृया