कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक कार्यशाला गोष्ठी सम्पन्न
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार १२:२२

१६ श्रावण २०८०, काठमाडौँ: महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक एक दिवसीय कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
गोष्ठी उद्घाटन पश्चात महान्यायाधिवक्ता डा.दिनमणी पोखरेल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ संयुक्त रूपमा विमोचन गर्नुभयो । गोष्ठी समापन कार्यक्रममा महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले गोष्ठीमा भएको छलफलका विषयबस्तुहरू गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान र अभियोजनकर्ताबीच एक आपसमा अझ बढी सहयोग र समन्वय भईराखेमा अनुसन्धान र अभियोजनमा राम्रो परिणाम आउने बताउनुभयो ।
न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य व्यक्त गर्दै फौजदारी न्याय प्रणालीको महत्वपूर्ण स्तम्भको रूपमा रहेको अभियोजनकर्ता सरकारी वकिलको कार्यालय र अनुसन्धानकर्ता नेपाल प्रहरी बीचको व्यावसायिक र समन्वयात्मक सम्बन्धले न्याय प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने चर्चा गर्नुभयो । अपराध अनुसन्धान नेपाल प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यसको सुदृढिकरणसँगै नेपाल प्रहरीको पनि सुदृढिकरण जोडिएको हुनाले यसको संरक्षण र सम्बर्धनमा सबै प्रहरी कर्मचारी गम्भीर रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले महान्यायाधिवक्ताको कार्यालयका राय सुझावहरू नेपाल प्रहरीले मार्गनिर्देशनको रूपमा ग्रहण गरी अपराध अनुसन्धानको क्षमता अभिवृद्धि र वैज्ञानिक प्रणालीको विकासमा तल्लीन रहेको उल्लेख गर्दै सूचना प्रविधिका आधुनिक माध्यमहरूको प्रयोग, स्पष्ट लक्ष्य र रणनीति सहितको योजनाबद्ध तरिकाले कसूरको अनुसन्धान गर्न नेपाल प्रहरी अग्रसर रहेको बताउनुभयो । जनशक्ति र स्रोतसाधनको सीमितता तथा विविध कानूनी जटिलता जस्ता चुनौतिको बहानामा जिम्मेवारीबाट पन्छिन नमिल्ने र ती चुनौतिलाई समाधान गर्ने कानूनी प्रणाली बमोजिम अपराध अनुसन्धानको जिम्मेवारी पूरा गर्नै पर्नेमा
उहाँले जोड दिनुभयो ।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो । गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू, अधिवक्ता सुवास आचार्यले प्रतिरक्षा वकीलको दृष्टिकोणबाट हाल भइरहेको कसूरको अनुसन्धानमा गरिनुपर्ने सुधारका पक्षहरु र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयमा प्रदेशगत प्रस्तुतीकरण गर्नुभएको थियो ।
साथै खुल्ला छलफलमा उठेका विविध विषयका जिज्ञासाहरुको सम्बन्धित अधिकारीहरुबाट निरूपण गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय कानून महाशाखाका सहसचिव, सहन्यायाधिवक्तहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, कानून व्यवसायी अधिवक्ताहरू, उप-न्यायाधिवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया