• 3:22 pm

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०६:५५

१० श्रावण २०८०, काठमाडौँ: निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।


जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ ।


निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ (सात) दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

प्रतिकृया