शाखा अधिकृत कर्णले ब्युटिसियन पेशा व्यवसाय माथि नै आँचआउने कार्य गरेको भन्दै संघको आपत्ति
प्रकाशित मिति
२०८० श्रावण ९ गते, मंगलवार १२:५७

९ श्रावण २०८०, काठमाडौं : नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिल स्थित् केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवालिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसाय माथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघको आपत्ति छ ।
शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरीय प्रहरी बृत गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइ सकेको विज्ञप्तिमा भनिएको छ । सहमति पछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरूपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरी झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ ।
‘मन्त्रालयमातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरूपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महरा लाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै प्रक्राउ गरी गैरकानुनीरूपमा थुनामा राख्नका लागि जोडबल गरि आएको कुरा जानकारी हुन आएकाले यस गैरकानुनी कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’–संघकी महासचिव शशिशाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसायनै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ । संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ ।
‘निजबन्दना कर्णले गरेको यस्तो गैरकानूनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्वन गरी पदीय आचरणको दुरूपयोगको कार्यमा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आवद्द रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मान पूर्वक पेशा व्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाई दिनु हुन सम्बन्धित् सरोकारवाला पक्षहरु समक्ष संघ जोडदार माग गर्दछ,’– विज्ञप्तिमा थप भनिएको छ ।
फेसियल हाउसकी सञ्चालिका महराले सेवालिन आएकी बन्दना कर्णले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताईन् । कर्णले सिंगो व्यवसाय र पेशा प्रति नै लाञ्छना लगाएको उनको भनाई छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताईन् ।
राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियनमहासंघ (जिफन्ट) काठमाडौं जिल्ला अध्यक्ष गंगा नकर्मीले पेशा माथि नै आँचआउने कामभएको भन्दै आपत्ति जनाईन् । नेपाल व्युटिसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्काले आफ्नो पेशा/व्यवसाय माथि भएको आक्रमणमका विरुद्ध गत ३ गते देखि निरन्तर रुपमा लागिराखेको भए पनि कुनै ठाउँबाट सहयोग पाउन नसकेको बताईन् । उनले आफूहरुको पेशा व्यवसाय माथि राज्यले सम्मान गर्न नसकेको बताईन् ।
नेपाल ब्युटिसियन संघ शाखा अधिकृत कर्णको उक्त कार्यविरुद्ध भोलि (मंगलबार) बाट चरणबद्ध आन्दोलनमा उत्रिने भएको छ । भोलि विहान ११ बजे संघले माईतीघर मण्डलामा विरोध तथाधर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले बताईन् ।
प्रतिकृया