• 3:37 am

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०४:४०

१९ असार २०८०, काठमाडौँ: काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए ।


उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताए । उनले सम्पदा क्षेत्रमा जानेहरुका लागि न्यूरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए ।


त्यस्तै, अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकलबाहेकका सवारीसाधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए । वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ ।

प्रतिकृया