• ८ असोज २०८३, बिहीबार
  • १२ः४९ राती

भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०४:५०

१० असार २०८०, काठमाडौँ:  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जानकारी दिए।

National Life

पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायलाई अख्तियारले प्रतिवादी बनाएको छ। यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध मुद्दा दायर भएको हो।


प्रवक्ता दाहालका अनुसार नगर प्रमुख विष्टलगायत दुई प्रमुख प्रशासकीय अधिकृतले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिएको भन्ने उजुरी परेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालिकाले २०७७/०७८मा भ्याटबाहेक न्यूनतम कबोल अंक तोकेर बोलपत्र आह्वान गरेपछि भवानी कन्स्ट्रक्शन प्रालिलाई नगर कार्यपालिकाले तोकेकै कबोल अंक स्वीकृत गरी ठेक्का सम्झौता गरिएको थियो।


कोबल गरेको अंक मिलेमतोमा कम देखाएर झुट्टा विवरण उल्लेख गरी सोही रकम कबोल गरेको भनेर राजस्व रकम कम निर्धारण गर्ने मनसायले नै बोलपत्र स्वीकृत गरेको अख्तियारले जनाएको छ। नियमअनुसार नगरपालिकाले राजस्व नउठाएर केन्द्रीय सरकार र प्रदेश सरकारको स्वीकृति बिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाएर सम्झौता गरेको पाइएको हो।


तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको ठहर छ। प्रशासकीय अधिकृत हरिदत्त जोशीले भने ठेक्का सम्झौता गर्दा मुल्य आय कर २ करोड ११ लाख ६५ हजार ६०८ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेका हुन्।


उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी अख्तियारले गरेको छ।


यस्तै राजस्व छुट दिनका लागि वडाध्यक्ष चन्दको नेतृत्वमा कार्यदल समेत बनाइएको थियो। उक्त कार्यदलले राजस्व छुट दिन नमिल्ने भन्ने प्रतिवेदन गर्नुपर्नेमा सो नगरी छुट दिन सकिने भन्ने प्रतिवेदन पेश गरिएको थियो। यस्तै कन्स्ट्रक्शनका संचालकहरूविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। इश्वरी प्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट तिराउनुपर्ने माग अख्तियारले गरेको हो।

प्रतिकृया