तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो : मेयर बालेन
प्रकाशित मिति
२०८० बैशाख ३१ गते, आईतवार ०९:३३
वैशाख ३१, २०८०, काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भष्ट्राचार गर्ने नेता र भ्रष्टाचार विरोधका आन्दोलन गर्ने नेताहरूप्रति आक्रोश पोखेका छन्। मेयर शाहले शनिबार काठमाडौँ तथा देशका विभिन्न ठाउँमा गरिएका भष्ट्राचार विरोधी आन्दोलनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन्।
यस्ताखालका आन्दोलनहरू आफूले पहिलेदेखिनै देखेको र यसबाट केही परिवर्तन नआएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई बागमतीमा लगेर चोपाल्नुपर्ने बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला शीर्ष राजनीतिक दलका शीर्ष नेताहरू पनि जोडिँदै गएपछि यो विषयको चर्चा चुलिँदै गएको छ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जना पक्राउ परेका छन्।
यता, सोही प्रकरणमा पक्राउ पूर्जी जारी गरेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन्।






प्रतिकृया