पुरुषोत्तम बस्नेतको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
प्रकाशित मिति
२०८० बैशाख २९ गते, शुक्रबार १२:४१

२९ वैशाख २०८०, काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य तथा पूर्वसांसद पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको छ । बस्नेतको शुक्रबार बिहान ४ बजे सिफल हाइट, काठमाडौंमा निधन भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्व।बस्नेतको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुृम्बुका पूर्व सभापति समेत रहेका बस्नेत हाल जननायक वीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । बस्नेत नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुन् । नेपाली कांग्रेसको धरोहर, लेखक, साहित्यकार, संविधानसभा सदस्य बस्नेत राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी थिए ।
उनले लामो समयसम्म नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका थिए । बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका छन् । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् ।
लामो समयसम्म नेपाली कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा ९ वर्ष जेल जीवन समेत व्यतित गरेका छन् ।
उनी अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित रहेका थिए । नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल भएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले स्व।बस्नेतप्रति सम्मान प्रकट गर्दै २०८० वैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय पनि भएको छ । स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको कांग्रेसले जनाएको छ। बस्नेतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुस्ख व्यक्त गरेका छन् ।
देउवाले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ ।’
‘नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, देउवाले भनेका छन् । ‘उहाँको निधनबाट नेपाली कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको छ’, देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’’आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रतिकृया