• 11:58 am

अहिले हामी आय भन्दा पनि कस्टमरलाई कसरी बढी सेवा दिन सकिन्छ भन्ने कुरामा केन्द्रित भएर अगाडि बढीराखेका छौंः मनाेज कुमार मेहता, सीइओ, माई पे (भिडियो सहित)

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार १२:१०

मोरङको इनरुवामा जन्मेका मनोज कुमार मेहता विगत डेढ वर्षदेखि माई पेको सीइओको रुपमा कार्यरत छन् । माई पेमा उनको संलग्नता, उनको नेतृत्वमा माई पेले चालेका कदमहरु र अरु वालेटहरुको भीडमा माई पेले कसरी आफूलाई उभ्याउने प्रयत्न गरिरहेको छ आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको सम्पादित अंश ।

माई पेको शुरुआत कहिलेदेखि भएको हो ?

हामीले लाइसेन्स प्राप्त गरेको पाँच वर्ष भैसक्यो । तर औपचारिक रुपमा गएको वर्ष मंसिरमा हामीले माई पे लन्च गरेका थियौं । हामीले डेढ वर्षको कार्यकाल तय गरिसकेका छौं ।

धेरै डिजिटल वालेटको माझमा माई पेले आफूलाई कसरी उभ्याएको छ र अरुले भन्दा कसरी भिन्न तरिकाले सेवा दिने सोंच्नु भएको छ ?

अहिले बजारमा हेर्दा धेरै डिजिटल वालेटहरु छन् । सबैले आ आफ्नो विशेषतालाई समातेर अगाडि बढेका छन् । हामीले अहिले ग्राहकहरुलाई आवश्यकता पर्ने आधारभूत सेवाहरु जस्तो टपअप, बिजुली तथा पानीको बिल तिर्ने सुविधा लगायत दैनिक जीवनमा उपयोग हुने सुविधाहरु राखिसकेका छौं । त्यसबाहेक पनि ग्राहकलाई चाहिने सेवाहरु हामीले थप्ने क्रममा छौं । अलिकता पृथक रुपमा आफूलाई उभ्याउन हामीले नयाँ प्रोडक्टहरु पनि समावेश गर्ने जमर्को गरेका छौं जसमा हामीले धेरै काम गरिसकेका छौं । मलाई लाग्दछ संभवत केही महिनाभित्र ग्राहक महानुभावहरुले आजसम्म उहाँहरुले अनुभव नगरेको कुराहरु हामीले प्रदान गर्नेछौं । यो बाहेक अरु दैनिक जीवनमा आवश्यक पर्ने क्यु आर नेटवर्कमा गएको महिनामा फोन पे नेटवर्कमा पनि आबद्ध भएका छौं जहाँबाट ग्राहकहरुलाई डेली पेमेन्ट गर्न ज्यादै सरल भएको छ ।

यसलाई स्थापित गराउन के कस्ता समस्याहरु झेलिरहनु भएको छ ?

समस्याहरु भनेको सबैभन्दा ठूलो भनेको सरकारबाट लागू भएको नियममा आबद्ध हुनुपर्ने हुन्छ । हामीलाई धेरै ठाउँमा नियमबद्ध भएर जानुपर्ने हुन्छ । अझ कुरा गर्नुपर्दा सर्भिस डिपेन्डीबिलीटी हुन्छ । मानौं हामीले फण्ड लोडको लागि बैंकमाथि भर पर्नुपर्ने, अरु फरक कुराको लागि तेश्रो पार्टीसँग भरपर्नु पर्ने जसले गर्दा हामीलाई स्थापना हुन केही समय लागिरहेको छ । अहिले हेर्नुभयो भने बैंकहरुसँग डिल गर्दै अझै सर्भिसहरु थप्ने क्रममै छौं । रेगुलेटरीको कुरा गर्दा राष्ट्र बैंक मात्र होइन कि अरु सरकारी निकायको कुरा गर्दा अझै पनि डिजीटल भुक्तानी लिन सबैजना तयारी अवस्थामा छैनन् । हामीले जस्तो सर्भिसहरु थपेर जाने जुन योजना गरेका थियौं त्यो अनुसार गर्न सकेका छैनौ ।

माई पेसँग कतिवटा बैंकहरु अहिले लिंक अप भएको छ ?

अहिले हामीसँग फण्ड लोडको लागि सबै बैंकहरु उपलब्ध छन् । लिंक बैंकमा चाहिं केही बैंकहरुलाई अहिले राखेका छौं र यसलाई वृद्धि गर्दै लाने योजना गरेका छौं । फण्ड लोड र बैंक ट्रान्सफरको लागि हामीसँग नेपालमा भएका सबैजसो बैंक र फाइनान्सियल संस्थाहरु उपलब्ध छन् । हामीले कोअपरेटिभसँग पनि कुरा गरिराखेका छौं । एक महिनाभित्र कोअपरेटिभलाई पनि जोड्नेछौं । हामीले बैंक ट्रान्सफर १ रुपैयाँमा गर्नुस् भनेर प्रवद्र्धन गरिराखेका छौं । १ रुपैयाँमा बैंकहरुमा ट्रान्सफर गर्ने फिचरलाई अहिले पनि निरन्तरता दिइरहेका छौं ।

माई पेका ग्राहकहरु कति जति छन् ?

यसको स्थापना पछि डेढ वर्षको अवधिमा हामीले ८ लाख ग्राहकहरु बनाइसकेका छौं र यसलाई ठूलै उपलब्धि मान्नुपर्दछ । यो निरन्तर वृद्धि हुने क्रममा छ । हामीले भएका ग्राहकहरुलाई कसरी राम्रो सेवा अझ दिने भन्ने कुरालाई मध्यनजर राखेर अगाडि बढीराखेका छौं ।

अरु वालेटभन्दा माई पे के कति कुरामा फरक छ ? किनकी अहिले इसेवा, आइएमई पे, खल्ती लगायतका धेरै वालेटहरु छन् ।

मैले अघि पनि भने नियमित सर्भिसहरु पहिल्यै नै उपलब्ध छन् । नेपाली बजारमा नै नभएका नवीनम सेवाहरुमा पनि हामीले काम गरिराखेका छौं । १ देखि डेढ महिना भित्रमा नेपाली बजारमा नभएका सर्भिसहरु थप गर्ने क्रममा छौं । यो भोलिको दिनमा सरप्राइजको रुपमा ग्राहकहरुले पाउनेछन् र मलाई आशा छ ग्राहकहरुले मन पनि पराउँछन् । त्यसबाहेक भएकै सेवामा पनि ग्राहकलाई बढी फाइदा कसरी हुन्छ चाहे त्यो क्यासब्याकबाट होस् वा कस्टमर सर्भिसबाट होस्, त्यो क्षेत्रबाट पनि हामीले कामहरु गरिराखेका छौं । अहिले अफरहरु हेर्नुभयो भने अरु वालेटभन्दा बढी रुपमा अफरहरु दिएर प्रमोट गरिराखेका छौं ।

अहिले सबैजसो बैंकको मोबाइल बैंकिगंहरु पनि छन् । यस्तोमा तपाईको वालेटले कस्तो किसिमको प्रतिष्पर्धाको सामना गर्नुभएको छ ?

अहिले हामी बैंकसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्थामा छौं किनभने बैंकले प्रदान गर्ने सेवा र हामीले प्रदान गर्ने सेवा मोटामोटी उस्तै उस्तै भन्न प-यो । मेरो बुझाईमा बैंकिगं एप नित्तान्त छुट्टै किसिमको एप हो । ग्राहकहरुले पनि बैंकको एपलाई भिन्न किसिमको एपको रुपमा लिनुपर्ने हुन्छ । बैंकले दिने सेवाहरु र हामीले दिने सेवाहरु छुट्टाछुट्टै नै हुन्छ । आजको दिनमा तपाईले हेर्नुभयो भने उदाहरणको लागि हामीले क्रिकेटको जुन एसीसी कप भैराखेको छ त्यसको टिकेट माई पेबाट काट्न पाइन्छ । त्यस्तै निश्चित इभेन्टको टिकट माई पे बाट गर्न मिल्दछ, रजिष्ट्रेशनहरु माई पेबाट गर्न मिल्दछ जुन चाहिं बैंकिकं एपमा उहाँहरुले गरिराख्नुभएको छैन । चुनौती त छ नै, किनभने सेग्मेन्ट एउटै हो, दुवै कस्टमरमा आधारित छन्, तर हामीले यसलाई बैंकिंक भन्दा छुट्टो तरिकाले यसलाई अगाडि बढाइरहेका छौं ।

माई पे प्रयोग गर्दा प्रयोगकर्तालाई के कस्ता फाइदाहरु छन् ?

मैले माई पे चलाउनुपर्दछ भनेर १०० प्रतिशत भन्दिन, मुख्य कुरा ग्राहकलाई फाइदा हुनुप¥यो । ग्राहकको रुपमा तपाईले सबै वालेटको क्यासब्याक र सुविधा तुलना गर्नुहोस्, तपाईलाई जुन फाइदाजनक हुन्छ त्यही प्रयोग गर्ने हो । हामीले १ रुपैयाँमा बैंक ट्रान्सफर गरिरहेका छौं जुन यो उद्योगमा सबैभन्दा कम हो । अरुले यो अफर गरेको छैन । तपाईले बैंक ट्रान्सफर गर्न माई पे प्रयोग गर्नुहोस् । त्यसबाहेक हामीले डाटा प्याक र भ्वाइस प्याकमा पनि १० प्रतिशत क्यासब्याक भनेर प्रमोट गरिराखेका छौं । १० प्रतिशत क्याशब्याक निकै उच्च नै हो । यसरी हामीले ग्राहकहरुलाई अफरहरु दिइरहेका छौं । त्यसगरी एयरलाइन्सको टिकटमा पनि अरुको भन्दा बढी क्याशब्याक दिइरहेका छौं । अरुहरुसँग तुलना गर्नुस् र माई पेमा आबद्ध भई क्यासब्याकको फाइदा उठाउनुस् ।

सुुरक्षाका कस्ता कस्ता थ्रेटहरु सामना गर्नुभएको छ ?

केही टेक्निकल थ्रेटहरु हुन्छन् । हाम्रोतर्फबाट गर्नुपर्ने सेक्युरिटी थ्रेट हाम्रो आन्तरिक टिम र विज्ञहरुबाट परिक्षण गराइसकेका हुन्छौं । ग्राहकलाई एपबाट लुपहोल हुने चान्स न्यून रहन्छ । प्रायः बजारमा हुने ठगीहरु ग्राहक आफै सचेत नभएर हुने ठगी हो । सबैभन्दा बढी त ओटीपी शेयर गर्ने हो । ठगी गर्ने मानिसहरुले विभिन्न बहानाले ओटीपी माग्दछन्, हामीले जानीनजानी अरुलाई ओटीपी शेयर गरेका हुन्छौं । अर्को चाहिं हामीले मोबाइल नम्बर परिवर्तन गरिसकेपछि त्यसलाई अपडेट गर्दैनौ । अरु थ्रेट भनेको अनावश्यक लिंकहरु क्लिक गर्ने, लोटरी प¥यो भन्ने जस्तो लोभमा पारेर यहाँ क्लिक गर्नुस् भनेर गरिने ठगी हुन् । थर्ड पार्टी लिंकहरु आउँछ त्यसलाई हामीले क्लिक गर्दा मोबाइलको डाटाहरु ह्याक हुने सम्भावना हुन्छ । त्यसैले ग्राहकहरु पनि आफै सचेत भएर रहनुपर्दछ ।

यसको प्रचार प्रसार तथा बजारीकरणको लागि के कस्ता उपायहरु अवलम्बन गर्नुभएको छ ?

हामीले हाम्रो मुख्य सम्पत्ति भनेको ग्राहकलाई मानेका छौं । हामीले ग्राहकलाई ध्यानमा राखेर मार्केटिङ गर्दछौं । उदाहरणको लागि हामीले ग्राहक केन्द्रित क्यासब्याकहरुमा बढी फोकस गरिरहेका छौं । ग्राहकको सेवालाई ध्यानमा राखेर हामीले काम गरिराखेका छौं । कुनै पनि ग्राहकको गुनासोहरु राम्रो गरी नियमन गर्नुपर्दछ । अहिले हाम्रो कस्टमर सर्भिस १८ घण्टाको छ । यसबाहेक हामीले युथलाई केन्द्रित गरेर अभियानहरु चलाइराखेका छौं । अहिले हामीले व्यापक रुपमा कलेजमा डिजीटल लिटरेसी गरिराखेका छौं । हामीले युथलाई टार्गेट गरेर इभेन्टहरु गरिराखेका छौं ।

भर्खरी आइसीसीको हामी टिकेटीङ पार्टनर भएका थियौं र यो पनि युथ केन्द्रित थियो । एसीसीको टिकेटीङ पनि माइ पेबाट भैराखेको छ । मार्केटिङ गर्दा युथहरुसँग कसरी जोडिने भनेर त्यसलाई केन्द्रित गरेर काम गरिराखेका छौं । अर्को कुरा सबैको ध्यान यो काठमाडौं भ्यालीमा भैराखेको छ । हामी काठमाडौं उपत्यका बाहिर पनि मुभ गर्ने योजना गरिराखेका छौं । हामी अहिले तयारी अवस्थामा छौं । ग्रामीण क्षेत्रहरु जहाँ अझ पनि डिजीटल एप भनेको के हो, जहाँ जागरुकता छैन, हामीले आउने महिनादेखि ग्रामीण भेगलाई प्रमोट गर्नेगरी योजना अगाडि सारेका छौं । हामी अहिले ७० प्लसको टीम छौं । हाम्रो भ्याली बाहिर विस्तार गर्ने योजना छ । अहिले हाम्रो शाखा कार्यालय छैन तर आउने समयमा आवश्यक परेमा खोल्नको लागि हामी तयारी अवस्थामा छौं ।

माई पेको आयको श्रोतको कुरा गर्दा हामी युटिलिटी पेमेन्टमा निर्भर छौं । अहिले हामी आय भन्दा पनि कस्टमरलाई कसरी बढी सेवा दिन सकिन्छ भन्ने कुरामा केन्द्रित भएर हिंडीराखेका छौं । कस्टमरलाई युटिलिटी सेल गर्दा सर्भिस प्रोभाइडरबाट केही कमीशन पाउँछौ, हाम्रो निश्चित मार्जिन हुन्छ । अहिले हामीले आयलाई बढाउनु भन्दा पनि आफ्नो तर्फबाट थपेर भएपनि हामीले ग्राहकलाई क्यास ब्याकहरु दिने र सर्भिस दिनेमा फोकस गरेका छौं ।

प्रतिकृया