भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको भक्तपुर महोत्सवलाई तीनलाख बढीले अवलोकन गरे
प्रकाशित मिति
२०८० बैशाख ४ गते, सोमबार ०७:२९
वैशाख ४, २०८०, भक्तपुर: नयाँवर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना गरिएकोे ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सम्पन्न भएको छ । ११ दिनसम्म चलेको मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
महोत्सव समापनका अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले मुलुकनै आर्थिक मन्दीको चपेटामा परेको समयमा आयोजना गरिएको महोत्सवले स्थानीयलाई राहत पुगेको बताए । पछिल्लो समय राजनीति कमाई खाने भाडोका रूपमा आएको भन्दै थापाले राजनीति सुद्विकरण नभई मुलुक आघी बढ्न नसक्ने बताए । समापनका अवसरमा पत्रकारिता मार्फत महोत्सव सफल पार्न सहयोग गरेको भन्दै पत्रकार पेशल आचार्य, रमेश गिरी र हेमराज ढकाललाई सम्मान गरिएको थियो ।
अध्यक्ष महतले भने, “यो महोत्सव व्यापार गरेर नाफा कमाउनकालागि गरेका होइनौँ, महोत्सवमा सबै वर्गका उपभोक्ताको सहज पहुँच पुर्याएर दैनिक उपभोग्य सामानलगायत अन्य सामान सस्तो र सुलभरुपमा बिक्री गरेर सेवा गर्नु नै मूल उद्देश्य हो, त्यसैले यहाँका दुई सयवटा स्टलबाट बजारमा पाइने प्रत्येक सामान २० देखि ५० प्रतिशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनाका साथै अवलोकनमा आएका मानिसलाई दैनिक साङ्गीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका छौँ ।”

महोत्सवमा दैनिक उपभोग्य खाद्यान्न, विभिन्न थरिका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान, अटोमोबाइल, मोबाइल, सवारीसाधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खानालगायत वस्तु विक्रीका लागि राखिएका थिए ।यसवर्ष विभिन्न व्यक्तित्वलाई नगदसहितको पुरस्कार एवं सम्मानसमेत गरिएको छ । अध्यक्ष महतले भने, “बालबालिकाको आकर्षण मनोरञ्नात्मक खेलमा, युवाको आकर्षण दैनिक चर्चित कलाकारको म्युजिकल एवं मनोरञ्जनात्मक कार्यक्रममा र गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान तथा लत्ताकपडामा रह्यो ।
महोत्सव सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न सफल रहेको खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक दिपक थापाले बताए । मेलामा दैनिक आयोजना गरिएको साङ्गीतिक प्रस्तुति तथा बाल उद्यानले पनि अवलोकनकर्ताको संख्या बढाउन सहयोग पुगेको थापाको भनाइ छ ।
महोत्सवमा बालबालिकालाई लक्ष्य गरी बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, विभिन्न खेल सामग्रीका साथै दर्जनौंँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति एवं हास्यव्यङ्यसहित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएकोे महोत्सवका आयोजक एवं मध्यपुर व्वाइज ब्यान्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए। महोत्सवमा दैनिक विभिन्न साङ्गीतिक ब्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र चर्चित गायक गायिकाको प्रस्तुति रहेको बज्राचार्यको भनाइ छ ।
महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल निःशुल्क राखिएको थियो । संयोजक थापाका अनुसार वैशाख ४ गते भोलि महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ ।








प्रतिकृया