• १९ भदौ २०८३, शुक्रबार
  • २ः२८ राती

वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वर्तमान अर्थतन्त्रलाई लयमा फर्काउने रणनीति तय गर्न वृहत् राष्ट्रिय विमर्शको आह्वान

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ११:१२

२९ चैत्र २०७९, काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरुमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र अर्थविद्हरुको सहभागितामा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउनुपर्ने बताउनुभएको छ ।


वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने समेत बताउनुभयो ।

Kamana Sewa

वरिष्ठ उपाध्यक्ष ढकालले अबको महासंघ नेतृत्वको रुपमा पाँच वटा प्राथमिकता रहेको समेत उल्लेख गर्नुभयो । बृहत् राष्ट्रिय विमर्श आयोजना गरी अर्थतन्त्रका समस्या समाधानको रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारणको एजेण्डालाई महासंघले प्राथमिकता साथ अघि बढाउने ढकालले उल्लेख गर्नु भयो।

Classic Tech Desktop

वरिष्ठ उपाध्यक्ष ढकालले हरेक प्रदेश र जिल्लामा ठूलाठूला नमूना आयोजना छनौट गरी त्यस्ता आयोजनामा स्थानीय, राष्ट्रिय र वैदेशिक लगानीको साझेदारीका लागि आह्वान समेत गर्नु भएको छ । लगानी विस्तार, उद्यम सृजना र रोजगारीको महा–अभियानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पूर्ण सहयोग र साथको अपेक्षा राखेको पनि उहाँले उल्लेख गर्नुभयो ।


ढकालले उद्योगी व्यवसायीहरुलाई राज्यको मर्यादाक्रममा समेट्ने प्रधानमन्त्रीको आश्वासनलाई महासंघतर्फबाट स्वागत् समेत गर्नुभयो । मर्यादाक्रम निर्धारणबाट सम्पूर्ण निजी क्षेत्र धेरै उत्साहित हुने र निजी क्षेत्रमा सकारात्मक सन्देश पनि प्रवाह गर्ने पनि ढकालले बताउनु भयो । सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले मर्यादाक्रम सम्बन्धी महासंघको धारणा पनि प्रधानमन्त्री समक्ष हस्तान्तण गर्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकाल यही ५७ औं साधारण सभाबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु हुनेछ ।

प्रतिकृया