माई खोला हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका तथा स्थानीय नेपालीलाई बाँडफाँट गर्यो आईपीओ
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार १०:५१
२९ चैत्र २०७९, काठमाडौँ: पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ माई खोला हाइड्रोपावर लिमिटेडले बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको भनाइ छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

विक्री प्रबन्धकका अनुसार चैत २७ गते दुबै पहिलो चरणको आईपीओ बाँडफाँट गरिएको हो । अब कम्पनीले दोस्रो चरणको आईपीओ विक्री गर्नेछ । कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत् आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ ।
उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।




प्रतिकृया