• १३:०६ २०८० चैत्र १६ गते
  • 1:06 pm

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

प्रकाशित मिति

२०७९ चैत्र २६ गते, आईतवार ०९:५०

337331159 806742914206478 8787536801769552629 n e1680954752313

चैत २६, २०७९, काठमाडौँ : संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख तीन दलका अध्यक्षको बैठक बसेको थियो । सभामुख घिमिरेसहित बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।


बैठकमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार कांग्रेसका सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकमा पारित गर्ने प्रस्ताव गरेपछि एमाले अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै समितिमा छलफल गर्नुपर्ने अडान लिए ।


एमाले अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रधानमन्त्री प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । प्रमुख दलका शीर्ष नेताबीच सहमति नजुटेपछि बैठक २८ चैतमा बिहान ९ बजे पुनः बसेर टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।


‘सभामुखजीले दुई जना साथीलाई बोलाउनुभयो । खासगरी टीआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो । सहमति जुटाउन सैद्धान्तिकरूपमा हामी सहमत नै छौं । तर, टेक्निकल पाटो छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नियमावली पास भएको छ, यो सबै’ यो क्षेत्रमा काम गरेका साथीसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ ।’


प्रधानमन्त्री प्रचण्डले आफूहरूले फास्ट ट्र्याकबाटै टुंग्याउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको पनि बताए । ‘हाम्रो कुरा फुल हाउसबाटै, फास्ट ट्र्याकबाटै गरौं भन्ने छ । प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ । यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया