गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा
प्रकाशित मिति
२०७९ चैत्र १९ गते, आईतवार ०२:२१
१९ चैत्र २०७९, काठमाडौँ: नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले उनीहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताए। कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने पनि सहमहामन्त्री पाण्डेले बताए । ‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ,’ उनले भने ।

२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो । यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो ।

अब उनीमाथिको कारबाही फुकुवा भएको छ । यस्तै २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने सहमहामन्त्री पाण्डेले बताए ।




प्रतिकृया