नेपाललाई पिएनजीले दियो २०४ रनको लक्ष्य
प्रकाशित मिति
२०७९ फाल्गुन १५ गते, सोमबार ०४:०३
१५ फागुन २०७९, काठमाडौँ: आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु भएको हो। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो।
पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे। उनले ५३ बलमा २ चौका प्रहार गरे। कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे। ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए। १५ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका नोर्मान भानुआले २५ रन बनाए। ४९ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका हिर्काएका उनलाई कुशल मल्लले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए। कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे। करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तीनै टिमले यो महिना दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।







प्रतिकृया