भावी आईजीपीका लागि दौडधूप शुरु
प्रकाशित मिति
२०७९ फाल्गुन ४ गते, बिहीबार ०३:१७
४ फागुन २०७९, काठमाडौँ: नेपाल प्रहरीमा रिक्त रहेको पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि अन्तिम तयारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवाको तयारी गर्न प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहलाई निर्देशन दिए लगत्तै बढुवा तयारी भएको हो । आईजीपी सिंह यूएईबाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर बढुवाको तयारी गर्न निर्देशन दिएका थिए । केही दिनमै गृह मन्त्रालयले बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न भएपछि स्वदेश आएका आईजीपी सिंहले सोमबार नै प्रधानमन्त्री निवास वालुवाटारमा भेटघाट गरेका थिए । नेपाल प्रहरीमा भने ६ महिनादेखि एआईजी रिक्त छ । अहिले एआईजी बन्ने मध्येबाटै भावी आईजीपी हुने भएकाले सरकारले त्यसअघि नै एआईजी बढुवा गर्ने तयारी भैरहेको छ । बुधबारबाट एआईजी पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ५ पुगेको छ । यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्र धानुकले अवकाश भएका थिए ।

४ एआईजी रिक्त हुँदा पनि एआईजी बढुवा गरिएको थिएन । एआईजीका दाबेदारलाई निवर्तमान गृहमन्त्री रवि लामिछानेले प्रदेशमा सरुवा गरेका थिए । लामिछाने गृहमन्त्रीबाट हटिसकेका छन् । लामिछाने हटेसँगै तत्काल एआईजी बढुवा अगाडि बढाउने तयारी सरकारको छ । हाल गृह मन्त्रालयको पनि जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै भएकाले माओवादीहरु नेताहरुले पनि चासो राखेका छन् ।

आईजीपी सिंहकै ब्याची ३ जना रहे पनि उनीहरुलाई भने अवकाशको मुखमा बढुवा गर्ने सम्भावना देखिएको छैन । मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्यको आगामी चैत ११ गते अनिवार्य अवकाश हुनेछ । ३० वर्षे सेवा अवधि हटाउने प्रक्रिया अगाडि बढाइएको भए पनि बीचमा सरकार परिवर्तन भएपछि यो प्रक्रिया रोकिएको छ । ३० वर्षे नहटे आईजीपीसँगै ३ एआईजी र ३ डीआईजी पनि अवकाश हुनेछन् । एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आईजीपीसँगै घर जानेछन् ।
अहिले एआईजीमा बढुवा भएमा डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्रचार्य, सुदीप भण्डारी, भीम ढकाल मध्येबाट एक जना आईजीपी हुनेछन् । यीमध्ये पाँच जनाको बढुवा हुनेछ । तिनै पाँच जनामध्ये एक जना आईजीपी बन्नेछन् । वसन्त कुँवर मधेश प्रदेशको प्रहरी प्रमुख छन् भने टेकप्रसाद राई लुम्बिनी, अशोक सिंह सुदूरपश्चिम र दीपक थापा बागमती प्रदेशको प्रहरी प्रमुख छन् । श्यामलाल ज्ञवाली प्रदेश १ मा, किरण बज्रचार्य प्रशासन विभागमा छन् । उनीहरुका अतिरिक्त सुदीप गिरी, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, उमेशराज जोशी र टेकबहादुर तामाङ पनि दाबेदार छन् । तर उनीहरुको संभावना भने निकै कम रहेको छ ।
अघिल्लो सरकारले वसन्त, टेकप्रसाद, अशोक र दीपकलाई वरीयतामा अगाडि राख्दै डीआईजीमा बढुवा गरेको थियो । अहिले एआईजीमा बढुवा हुनेको भने आईजीपी बन्ने सम्भावना कायम रहन्छ । यीमध्ये दीपक थापा ५ महिनापछि भर्ना भएका हुन् । यस पटक अरु नै आईजीपी बने पनि उनी त्यसपछि छोटो समयका लागि आईजीपी बन्ने सम्भावना उनको पनि छ । बढुवाका प्रमुख दाबेदार ६ जना २०५१ चैतमा र थापा २०५२ भदौमा प्रहरी निरीक्षक भएका हुन् ।
भावी आईजीपीका लागि डीआईजीको एआईजीमा बढुवा हुन लागेसँगै आपसमा अस्वस्थ्य प्रतिस्पर्धासमेत देखिएको छ । एकले अर्कालाई खुइल्याएर आफू अगाडि बढ्नका लागि विभिन्न होडबाजी चलेको छ । सो क्रममा केहीले एक अर्काका नकारात्मक सूचना चुहाउने क्रमसमेत चलिरहेको पाइएको छ ।
अघिल्लो हप्ता मात्रै सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएपछि नेपाल प्रहरीको एआईजी बढुवाको पालो रहेको छ ।




प्रतिकृया