आज एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य
प्रकाशित मिति
२०७९ माघ २२ गते, आईतवार ११:५८
२२ माघ २०७९, काठमाडौँ: हप्ताको पहिलो दिन आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । शुक्रबार अस्ति तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको हो । शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो ।
गएको बिहीवार मूल्य बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने सुनको मस्ल्य तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको छ । सुनको मूल्य अझै केही घट्न सक्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔँस १८ सय ६५ डलर छ । अझै ६५ डलर जति घट्ने अनुमान छ।

अमेरिकामा रोजगारी पाउनेको सङ्ख्या बढ्न थालेसँगै सुनको कारोबारमा पनि प्रभाव पर्न थालेको हो । तर, सुनको मूल्य घट्नुमा यसलाई मात्रै कारण मान्न नमिल्ने उनको भनाइ छ । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिकृया