• १३:३४ २०८० चैत्र १६ गते
  • 1:34 pm

नेत्रज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ११:५५

NNJS and FNJ e1675318218694

१९ माघ, २०७९, काठमाडौँ: नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।आँखा उपचार सम्बन्धी आम जनतामा जनचेतना फैलाउने र पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र महासंघका तर्फबाट अध्यक्ष बिपुल पोख्रेलले हस्ताक्षर गर्नुभएको छ ।


उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा. चेतराज पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताउनुभयो । उहाँले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो । उहाँले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताउनुभयो ।


वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।


कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई, कार्यकारी निर्देशक शैलेस कुमार मिश्र र महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया