• २३ भदौ २०८३, मंगलबार
  • ७ः१६ बिहान

विमान दुर्घटनामा मृत्यु भएका ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०१:२३

११ माघ २०७९, काठमाडौँ: माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव ‘डीएनए’ टेस्टबाट पहिचान गरिने भएको छ । काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेकोमा सबैको ‘डीएनए’ टेस्टबाट पहिचान गरिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।

National Life

अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।


‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने ।नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया