• ३१ साउन २०८३, आइतबार
  • ११:०६ बेलुका

अवस्था ठिक नभएका ११ ओटा र मापदण्डभन्दा बढी धूँवा फाल्ने ७ सवारी साधन कारवाहीमा

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ११:४१

९ माघ, २०७९, काठमाडौँ : ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका भाडाका बस, ट्याम्पो, फोर्स गाडी र पिकअपभ्यान लगायतका ११ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।


दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा आज दिउँसो १०२ ओटा सवारी साधन चेकजाँच गरिएकोमा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिस्रिएका सवारी साधन कारबाहीमा परेका हुन् । अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा ट्राफिक प्रहरीको टोली ललितपुरको महालक्ष्मीस्थान क्षेत्रमा खटिएको थियो ।

Kamana Sewa

त्यस्तै काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ७ ओटा सवारी साधन कारबाहीमा परेका छन् । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले ३८ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस २, पिकअप भ्यान ३, टाटा सुमो १ र स्कार्पियो १ गरी ७ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।

Classic Tech Desktop

चेकिङ गरिएकामध्ये ११ ओटा सवारी साधन भने यसअघी भएको प्रदुषण चेकिङमा परि मर्मतको लागि पठाइएकोमा पुन: चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फालेको अवस्थामा एउटा पिकअप भ्यान फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । सवारी साधन मर्मत पश्चात पुन: चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।


मापदण्डभन्दा बढी धूँवा फाल्ने र अवस्था ठिक नभएका सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गर्नु भएको छ ।

प्रतिकृया