• १२ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

शेखर गोल्छाले भने, ‘अहिलेको आर्थिक संकटको सृजना नेपाल राष्ट्र बैंकको नीतिले गरेको हो’

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार ०८:०७

पुष १, २०७९, विराटनगर: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकको ब्याजदर घटाउने विषयमा आफू आन्दोलनका पक्षमा नभएको बताएका छन्। बैंकको ब्याजदर घटाउन पुसको पहिलो हप्तादेखि आन्दोलनको तयारी गरिरहेका उद्योगी–व्यवसायीको सहर विराटनगरमा आफ्नो मन्तव्य व्यक्त गर्दै महासंघका अध्यक्ष गोल्छाले आफू आन्दोलनका पक्षमा नभएको स्पष्ट पारेका हुन्।‘हामी आन्दोलन चाहँदैनौँ बरु सरकारसित सहकार्य गरेर समाधान गर्न चाहन्छौँ’, उनले विराट एक्स्पोको उद्घाटन कार्यक्रममा भने, ‘भुक्तानी सन्तुलन सकारात्मक छ। अब अर्थतन्त्र सुध्रन्छ भनेर धेरैले भन्दै आउनु भएको छ। तर तरलताको समाधान नभएसम्म अर्थतन्त्र सुध्रन सक्तैन।’

National Life

गोल्छाका अनुसार अहिलेको चुनौती भिन्न प्रकारको छ । राजनीतिक परिवर्तनका वेला पनि अर्थतन्त्रमा चुनौती र समस्याहरू आए तर परिवर्तनसँगसँगै समाधान भए। त्यस्तै मुलुकले १६–१७ घण्टा लोडसेडिङ ब्यहोर्दा पनि अर्थतन्त्र समस्याग्रस्त थियो। नाकाबन्दी, भूकम्प र कोभिडले पनि अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाएकै हो। सबै समस्या पार गरेर अर्थतन्त्र लयमा फर्किसकेको थियो।


‘तर अहिलेको सङ्कट भिन्न प्रकारले उत्पन्न भएको हो’, अध्यक्ष गोल्छाको भनाइ छ, ‘यो सङ्कटको सृजना नेपाल राष्ट्र बैंकको नीतिले गरेको हो। अहिलेको समस्या तरलता र ब्याजदरको हो। यो राष्ट्र बैंकको नीतिसित जोडिएको छ। र, यही समस्याले गर्दा नेपालको अर्थतन्त्र संकुचनमा परेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले निर्माणसामग्रीका क्षेत्रमा ७० प्रतिशत मन्दी रहेको बताए। गोल्छाले निर्माणसामग्रीका उद्योग भनेका मुलुकका माउ उद्योग भएको चर्चा गर्दै यिनमै मन्दी आएका कारण बेरोजगारीको समस्या व्यापक रहेको उल्लेख गरे। उनले भने, ‘मुलुकको विकासको सूचक भनेको डिजलको खपत र विद्युत् विक्रीको अनुपात पनि हो। दुबैमा संकुचन आएको छ।’


उनले डिजलको मूल्यमा अन्तर्राष्ट्रिय स्तरमा ह्रास आउँदा पनि नेपाल सरकारले घटाउन नसकेको भन्दै आक्रोश व्यक्त गरे। गोल्छाको आग्रह छ, ‘चालु पुँजी कर्जा निर्देशिकालाई स्थगित गरिनुपर्छ। यसले तरलताको अवस्थालाई बिगारेको छ। तरलताको अवस्थालाई सुधार्न राष्ट्र बैंकले जोखिम मोलेर भए पनि टुल्सहरूको प्रयोग गर्नुपर्छ। नभए अर्थतन्त्र चलायमान् हुनसक्तैन।’ उनले राजस्व र रोजगारी दुबै घटेको चर्चा गर्दै मुद्रास्फीति १२ प्रतिशत पुग्ने दाबी गरे।


उनले निकट भविष्यमै धेरै समस्या आउने आँकलन गरिएको बताए। अध्यक्ष गोल्छाले पुसको महिना भनेको आयकर संकलन गर्ने महिना भएको चर्चा गर्दै तर जुन तरिकाले व्यवसाय चलेको छ यस हिसाबले आयकरको संकलन ५० प्रतिशतभन्दा कम हुने दाबी गरे।

प्रतिकृया