• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

राष्ट्रपतिद्वारा ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार ०८:११

१७ मंसिर २०७९, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी छन् ।


अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख छ । शुभकामना सन्देशमा भनिएको छ, “अपाङ्गतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणसमेतमा रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु ।”

Kamana Sewa

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै क्षेत्रमा विभेदरहित अवसर प्रदान गर्नुपर्ने संविधानको मार्गदर्शन रहेको छ । यसबाट सबै नागरिकले राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउने मार्ग प्रशस्त भएको छ ।

Classic Tech Desktop

संविधानका प्रावधान कार्यान्वयन गर्नका लागि अपाङ्गताको क्षेत्रमा सक्रिय सामाजिक सङ्गठन एवं सरोकारवाला निकायको कार्यलाई समन्वयात्मकरूपले सञ्चालन गर्दै सेवा प्रवाहमा सरलता एवं एकरूपता ल्याउन तथा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको यथेष्ट ध्यान जान आवश्यक भएको सन्देशमा उल्लेख छ ।


शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सुविधा र अवसरमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्दछ । “अपाङ्गता भएका व्यक्तिलाई कार्यस्थल, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिरजस्ता स्थानमा सहज पहुँच सुनिश्चित हुने भौतिक संरचना निर्माण गर्न तीन तहका सरकार तथा सम्बद्ध सबैको सक्रियता आवश्यक पर्दछ भन्ने आफूलाई लागेको छ” राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, “यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्नुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरासमेत गर्न टेवा पुग्नेछ ।”

प्रतिकृया