• 9:24 am

मेरो उम्मेदवारी भ्रष्टाचार, वेथितिकाे विरुद्ध बोल्न र जनताको समस्या, दुःख र आवाज बुलन्द गर्नको लागि हो : तारा बहादुर कुँवर

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ०१:१३

१ मंसिर २०७९, काठमाडौँ: तारा बहादुर कुँवर आसन्न निर्वाचनमा काभ्रेपलान्चोक जिल्ला क्षेत्र नं. २ (क) बाट प्रदेश सभाको उम्मेदवारमा उठेका छन् । उनको चुनावी चिन्ह लौरो रहेको छ । उनको राजनीतिक पृष्ठभूमि नभए पनि जिन्दगीको संघर्षको भट्टीमा खारिएर आएका उनी मजदुरबाट आफ्नो जीवन शुरु गरी अहिले सम्पन्न अवस्थामा आई समाज र देशको लागि केही गरौं भन्ने पवित्र उद्देश्यका साथ चुनावमा उठेका छन् । उनको संघर्षपूर्ण जीवन सर्वसाधरणको लागि प्रेरणाको श्रोत बन्नेमा कुनै दुविधा छैन ।


उनको अहिलेको चुनावमा चुनावी एजेण्डा, चुनाव जितेपछि उनले गर्ने कार्य योजना तथा विविध विषयको सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको टेलिफोन अन्तर्वार्ताको सम्पादित अंशः


नेपालको वर्तमान राजनीतिक विश्लेषण गर्नलाई अनुरोध गर्दा उनले आफू राजनीति खासै नबुझेको र जिन्दगीभर अन्याय नै अन्याय सहेकोले, पीडै पीडाको बीचमा जनताले दुःख नपाउन् भन्ने पवित्र उद्देश्य राखेर उम्मेदवार उठेको हो भन्दछन् । उनका अनुसार उनलाई राजनीति गर्न आउँदैन । उनी भन्दछन्, “म राजनीतिक पृष्ठभूमिको मानिस होइन । म मिहीनेत र परिश्रम गरेर आएको हो । हाम्रो गाउँका दौतरी र दाजुभाइ दिदीबहिनीहरुको असाध्यै दर्दनाक अवस्था देखेर हामीले मिहीनेत गरेर यसो भात खाने व्यवस्था गर्न सक्यौं, त्यसैगरी दाजुभाई दिदी बहिनीहरुको लागि पनि प्रदेश सभामा गएर केही गर्न सक्दछौं कि भनेर आएको हो ।”


म लौरो अभियानबाट हो । कुनै पार्टीको सदस्यता लिएको मानिस होइन । चुनावी प्रयोजनको लागि लौरो चिन्ह लिएर उठेको हो । उनी काभ्रपलान्चोक जिल्ला क्षेत्र नं. २ क प्रदेश १ बाट उठेका हुन् ।

चुनाव जितेपछि तपाईको योजना, कार्ययोजना र एजेण्डा के कस्ता छन् ?

उनी ढुक्क भएर भन्छन् चुनाव जितिहालिन्छ । चुनाव जितिसकेपछि सम्बन्धित ठाउँमा के के समस्याहरु छन् ती कुरालाई सम्बोधन गर्ने गरी काम गर्ने हो । प्रदेश सभा सदस्यले गर्ने कार्यदेश र हामीलाई दिएको अख्तियारी अनुसार हामीलाई जे जे अधिकार दिन्छ त्यही अनुसार काम गर्ने हो । सम्भव भएसम्म मैले विकास निर्माणका कुराहरु नै गर्ने हो । गाउँ पालिकाका स्तरमा वडा अध्यक्षले गर्दछन्, पालिका प्रमुखले गर्ने उनले गर्दछन् । त्यसैगरी प्रदेश सभा सदस्यले गर्ने कामहरु नियमसंगत तरिकाले नहिच्किचाइकन जनताको घर दैलोमा गएर जनताहरुको समस्या अवगत गरेर, हरेक महिना उहाँहरुसँग भेट्ने, उहाँहरुले दिएको निर्देशन, उहाँहरुको सुझाव, उहाँहरुको समस्यालाई एउटा पुलको रुपमा प्रदेश सभामा लगेर विद्यमान समस्यालाई समाधान गर्ने मेरो पहल हुनेछ ।


तपाई उठेको निर्वाचन क्षेत्रको समस्याहरुको बारेमा केही बताइदिनुहुन्छ कि ।

हामीले एउटा कृषि क्रान्ति ल्याउँछौं भनेर भनेका छौं । पहाडी इलाकाका जग्गा जमीन सबै बाँझै रहेका छन् । मानिसहरु बस्ती छोडेर हिंडे, बस्ती उजाड भए । वर्ष भरि खेती गरेर ६ महिना खान पुग्दैन । त्यसैले कृषि वैज्ञानिकहरुलाई बोलाएर माटो जाँच्न लगाई त्यस ठाउँमा अत्याधुनिक धेरै फल लाग्ने फलफुलहरु र उन्नत जातको अन्नबाली लगाउने हाम्रो योजना छ । हामी ३०–३५ वटा देश घुम्यौ, नयाँ नयाँ बाली र फलफुल ल्याएर कृषि क्रान्ति गर्नुपर्दछ । यसमा कत्तिको सफल भइन्छ त्यो चाहिं थाहा छैन तर राज्यले चाह्यो भने असफल हुने कुरा हुँदैन । हामीले प्रहरी चौकी, स्वास्थ्य चौकी भने जस्तो कृषि चौकी बनाउने, कृषि सेना बनाउने कार्य गर्दछौं । जसजसको घरमा काम गर्ने मानिस छैन, त्यो कृषि सेनाले काम गर्दछ र त्यो उत्पादनलाई सरकारले लिइ त्यसको मूल्य निर्धारण गरेर सरकारले नै बेचिदिने गर्नुपर्दछ ।


मानिसहरुले खेती किसानी गर्ने बेलामा मल पाएका छैनन् । त्यसको लागि मल राज्यले बेलामा झिकाइदिनु प¥यो, कृषकको आँगनमा समयमै पु-याइदिनुप-यो । यदि राज्यले ल्याउन सक्दैन र सँधैभरि यसरी किसानलाई अन्याय गर्ने हो भने प्रतिष्पर्धाको आधारमा व्यापारीलाई खुला गरिदिनुप-यो । अहिले १००० पर्ने मललाई ३५०० तिर्नुपर्दछ । व्यापारीलाई दियो भने प्रतिष्पर्धाको कारणले मूल्यमा पनि नियन्त्रण हुन्छ । राज्यले किन अंकुश लगाउनुपर्यो, राज्यले नै ल्याएर किन बेच्नुप-यो ? गाडी, मेशिन सबै अरुले ल्याएर बेच्न मिल्ने, मल मात्रै किन राज्यले बेच्नुप-यो ? यो पनि प्रतिष्पर्धामा राज्यले व्यापारीलाई दिए भैहाल्यो ।
त्यो पनि खुलाउन सकेनौं भने हामीले अनेक किसिमको प्रयास गर्नेछौं । अनसन बस्नेछौं, हुने सम्मको सबै प्रयास रहनेछ । गाउँका खाली जग्गा जमीनहरुमा कृषि सेनाले उत्पादन गर्दछ र सरकारले त्यो सामान किनिदिन्छ । बाँझो रहेको जमीनमा जग्गा धनीको अनुमति लिएर खेतीपाती हुन्छ, हराभरा हुन्छ । यस्तै खालको सोंचहरु हाम्रो छ ।


जनताले तपाईलाई नै भोट किन दिने भन्ने कुरामा के भन्न चाहनुहुन्छ ?

ठूला ठूला पार्टीहरुको, गठबन्धनको उम्मेदवार त प्रदेश सभामा छँदैछन् । ६ जनाले प्रतिष्पर्धा गर्दैछौं । ठूला ठूला पार्टीका नेताहरु गाउँ गाउँ छिर्नै सकेका छैनन् । लौरोले हान्छन् भनेर ती गाउँ छिर्नै सकेका छैनन् । सबैको भनाई के छ भने ३२ वर्षदेखि हामीले यिनीहरुलाई मात्रै पठायौं, तर यिनीहरुले हामीलाई टाउकोमा टेकेर मल दिएनन् । हामीलाई कुनै किसिमको विकास निर्माण दिएनन् । अन्याय, अत्याचार गरे, देशको अस्तित्व समाप्त हुन लागिसक्यो । कृषकहरु र जनताहरु आत्तिएर, सँधै पीडा, सँधै अभाव, सँधै रोदन, हामीहरुलाई १ छाक खानको लागि मात्रै हामी कति संघर्ष गर्ने, कति पीडामा बस्ने ? विदेशमा ५ दिन काम ग¥यो भने महिना दिन खान पुग्ने, यहाँको मानिसले महिना दिन काम ग-यो भने १० दिन खान नपुग्ने, यो त अति भयो ।
त्यसकारण राजनीतिक पार्टीलाई खबरदारी गर्नको लागि, राजनीतिक पार्टीले राम्रो काम गरोस् भन्नाका लागि दबाब दिनको लागि हामी उठेका हौं । राजनीतिक पार्टीको विकल्प त छैन । स्वतन्त्र १ जना व्यक्ति गएर व्यापक परिवर्तन गर्न सक्ने पनि होइन । तसर्थ खबरदारी गर्न र दबाब सिर्जना गर्न लौरो चिन्ह भएको तारा बहादुर कुँवरलाई पठाउन सकियो भने कमसेकम हाम्रो विषयमा बोलिदिन्छ, कमसेकम खबरदारी गर्दछ, भ्रष्टाचार हुन दिंदैन, भ्रष्टाचार आफूले गर्दैन भनेर जनताले मलाई उठ्न आव्हान गरेका हुन् । यो काभ्रे जिल्लाको प्रदेश दुईको १ बाट लौरो चिन्ह भएको तारा बहादुर कुँवरलाई भोट दिन यहाँका भगवानरुपी पूज्यनीय आमा बुबा दाजु भाई दिदी बहिनीहरु आतुर हुनुहुन्छ । मैले देखिराखेको र बुझेको त्यही नै हो ।


युवाहरु बेरोजगार भएर विदेश गइरहेका छन्, ती युवालाई नेपालमै रोजगार दिन यहाँको के भूमिका हुनेछ ?

मैले अघि नै भने कृषि क्रान्ति गर्ने, हजारौं युवालाई कृषि सेनामा भर्ना गरिन्छ । शिक्षित बेरोजगार जति छन् त्यसलाई राज्यले गर्ने कुरा राज्यले गर्दछ, हामीले व्यक्तिगत तवरले गर्दछौं । हाम्रो दोलालघाटबाट पलान्चोक भगवती केबलकार लैजाने हाम्रो योजना छ । दोलालघाटबाट मूलखर्क भिमसेनमा केवलकार लैजाने योजना छ । केवलकार ठाउँ ठाउँमा पुग्ने बित्तिकै त्यहाँ विश्व स्तरको पाँच तारे होटलहरु खुल्दछन् । त्यहाँ विभिन्न किसिमको शिक्षण अस्पतालहरु खुल्दछन् । विश्वभरका मानिसहरु यहाँ डा. पढ्न आउँछन् । हाम्रो काभ्रmे जिल्लाको जति पनि ठाउँहरु जस्तै अनेकोट भयो, कोशि बेखा, पलान्चोक भगवती, होप्से, लम्साल बेसी, यस्ता यस्ता राम्रा ठाउँहरु यहाँ छन् । त्यस्तै कोशिपारीको अनेकौं राम्रा स्थानहरुमा माथि माथि हस्पीटल खोल्ने, उद्योगधन्दाहरु खोल्ने, होटलहरु खोल्ने, विश्वविद्यालय, विभिन्न किसिमका कलेजहरु त्यस्तो ठाउँमा खोलिदिन सकियो भने विकास हुन्छ । यहाँको हावापानी निकै सुन्दर छ । गर्मी महिनामा दोलालघाटमा जेठको महिनामा ४० डिग्री तापक्रम हुन्छ, २० मिनेट माथि जाँदा १४ डिग्री तापक्रम हुने, यस्तो स्वर्ग जस्तो ठाउँ छ । यहाँ विश्वभरिबाट पढ्न मानिसहरु आउँछन् अहिले जसरी नेपालका मानिसहरु पढ्न अमेरिका बेलायत जान्छन् । त्यसपछि त्यहाँ रोजगारी सिर्जना हुन्छ । डाँडा डाँडामा बुद्धको गुम्बाहरु बनाउने, हिन्दु धर्मको शिवजीको ठूला ठूला मूर्तिहरु बनाउने, विभिन्न देवी देवताहरुको आ आफ्नो संस्कार अनुसार मन्दिर र मूर्ति बनाउने, यस्ता विभिन्न किसिमका निर्माण कार्य गरेर सुन्दर बनाउने हाम्रो योजना हो । योजनाहरु मात्रै बनाएर केही हुने होइन, प्रदेश सभामा १ जना मानिस गएर छलाँग मार्न सक्ने होइन, तै पनि हामीले प्रयास त गर्दछौं नि । हामीले प्रतिज्ञापत्रमा कमसेकम त्यो लेखेर अगाडि बढेका छौं ।


राज्यले मानिसहरुको लागि कामको व्यवस्था नगरेको हुनाले म ११ वर्षको उमेरदेखि अर्काको घरमा गएर भाँडा माझेर, रिक्सा मजदुर, ज्यामी मजदुर, लुगा सिउने, सेक्युरिटी गार्ड, चिया पसल, ठेलागाडा ठेल्ने, ट्याम्पो ड्राइभर, ट्याक्सी ड्राइभर, ट्रक ड्राइभर, डोजर अपरेटर गरेर आज यहाँसम्म आइपुगेको छु । मैले जस्तो दुःख जीवनमा अरुले गर्न नपरोस्, मेरो जस्तो किताब अरुले लेख्न नपरोस् भन्नको लागि मैले मेरो तर्फबाट सक्दो प्रयास गर्नको निम्ति प्रदेश सभामा उठेको हुँ । यद्यपि पढाई लेखाईमा मैले ७ कक्षासम्म मात्र पढेको हुँ, पढ्न नपाए पनि म पीएचडी होल्डर डा. भन्दा कम्ती छैन किनभने अनुभवमा मैले उनीहरुभन्दा धेरै माथि काम गरेको छु । समाजसेवा देखि लिएर विभिन्न किसिमको काम गरेको छु । म नपुगेर आएको होइन । भ्रष्टाचार गरौं, जनताको रगत चुसौं भनेर म आएको होइन । मलाई दालभात खान मैले दुःख गरेर कमाई हालेको छु । जीवनमा मैले कसैलाई रुवाइन, जति रोएँ, आफै रोएँ । जति अन्याय सहें, आफैले सहें । त्यसकारण मैले मेरो जन्मभूमिका दाजुभाई दिदिबहिनीहरुलाई निःशुल्क उपचार, निःशुल्क शिक्षाको लागि लड्नको लागि उठेको हुँ । हाम्रो गाउँमा बस्ने दाजुभाइहरुले के जग्गा बेचेर उपचार गर्न सक्दछन् ? यहाँको एकजना मानिसको खुट्टा भाँचियो मानौं, अहिले नर्भिकमा लगेर भर्ना ग¥यो भने ५ लाख रुपैयाँ डिपोजिट माग्छ । ५ लाख रुपैयाँ कहाँबाट तिर्दछन् गरीबका छोराले ? शहरमा बस्नेलाई ५ लाख रुपैयाँ भनेको ५ रुपैयाँ जस्तो छ । हामीलाई ५ लाख भनेको ५ करोड जस्तो छ । हाम्रो प्रथम माग भनेको सकेसम्म स्वास्थ्य निशुल्क हुनुपर्दछ, उपचार राज्यले गरिदिनुपर्दछ, बरु कर के के लगाउनुपर्दछ लगाओस् । तर जनतालाई अकालमा उपचार गर्न नसकेर खर्च नभएर मर्न दिन पाइन्न । यसको लागि हाम्रो जोडदार माग हुनेछ ।


सबैभन्दा ठूलो जनचेतना हुने रहेछ । शिक्षा नभइकन मानिस कहिल्यै नसुध्रिने रहेछ । त्यसकारण शिक्षामा सुधार हुनुपर्दछ । अहिलेको ब्याचलर पढेको मानिसले श्रीस्वस्थानी किताब पढ्न सक्दैन, त्यस्तो पनि शिक्षा हुन्छ, जम्मै राजनीति गर्ने, कहिले पिउनलाई पढ्न लगाएर हिंड्ने, सबै राजनीतिक पार्टीको कार्यकर्ताहरुको भर्तीकेन्द्र भयो शिक्षक शिक्षीकाहरुको लागि । हुनत राम्रा पनि छन्, सबैलाई नराम्रो भन्न मिल्दैन । त्यसकारण त्यसमा सुधार ल्याउनुपर्दछ । शिक्षाको क्षेत्रमा राजनीति बन्द हुनुपर्दछ । दीनदुःखीहरुले पनि राम्रो खालको शिक्षा पाउनु प¥यो । मैले १ कक्षा पढेर आमालाई स्वस्थानी किताब पढेर सुनाउन सक्थे भने आज एसएलसी पास गरेको व्यक्तिलाई स्वस्थानी किताब पढ्न दिनु त कति पढ्दो रहेछ । त्यसकारण शिक्षामा पनि सुधार ल्याउनुपर्दछ । जिन्दगीभर झुटो नबोलेको मानिस, धर्ममा विश्वास गर्ने मानिस, गर्न नसक्ने कुरा गर्दछु भनेर भन्न सक्दैनौं । धर्ममा आस्था भएकोले पलान्चोक भगवतीलाई साक्षी राखेर भन्दछु कि म सत्कर्म गर्दछु, राम्रो काम गर्दछु, नसके पनि नराम्रो काम गर्दिन, कसैलाई पनि कस्तो गल्ती मानिसलाई भोट हालेछु भन्ने महशुस गराउँदिन । म आफ्नो लागि महल बनाउन जाने होइन, जनताको लागि बनाउन जाने हो । म आफू मालिक हुन जाने होइन, सेवक हुन जाने हो । म छलछामको राजनीति गर्न जाने होइन, सच्चा हृदयले काम गर्न जाने हो ।

प्रतिकृया