• १९ भदौ २०८३, शुक्रबार
  • १२ः४० राती

बी.पी. कांग्रेसको घोषणापत्र: संविधानलाई गतिशिल राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने प्रतिबद्धता

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०५:२६

२३ कात्तिक २०७९, काठमाडौँ : बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पुर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ।


पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ,भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मेडियामा रुपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ ।कुनै पनि अधिनायकवादी र निरंकुशताको विरुद्ध पार्टी संघर्षशिल रहने र संविधानलाई गतिशिल राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्येनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

Kamana Sewa

त्यस्तै, बीपी कोइरालाको सोचाईअनुरुप उत्पादन बृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मुल आर्थिक नीतिको रुपमा प्रस्तुत गरिएको छ। देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने पनि उल्लेख गरिएको छ । राजश्व संकलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी ५ वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्राउने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिवद्धता गरिएको छ । यसैगरी, पार्टीले उद्योगतर्फ हरित अर्थतन्त्रको सिद्धान्त अनुसार कृषि र बन पैदावमरमा आधारित उद्योगमा निजी क्षेत्रलाई प्रशय दिने जनाएको छ।

Classic Tech Desktop

आगामी ५ वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौं द्रुर्तमार्गको निर्माण कार्य सम्पन्न गर्ने र विद्युतिय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । खानेपानीको मुल स्रोत सुक्न नदिन त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी।पी।बाट ७८ प्रत्यक्ष र १ सय ७३ सदस्यहरु समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी रहेको जानकारी दिएका छन् । सम्पुर्ण उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेको उनले सुनाए । सबै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको विश्वास दिलाए ।


मुलुकले गत वर्षमा मात्रै करिब १९ खर्ब व्यापार घाटा ब्योहोरेको भन्दै सो बाट मुक्त गर्न आफ्नो पार्टीले आर्थिक नीति लिएको बताए । राष्ट्रियतासहितको प्रजातान्त्रिक समाजवादको दिशा नै पार्टीको घोषणापत्रको सार भएको उनको भनाइ थियो । दिनदिनै सिमानामा नेपालीहरु मारिएपनि ठुला राजनीतिक दलहरु कोही नबोलेको भन्दै उनले गुनासो पोखे ।


पार्टीका उपसभापति रिता खनालले जनताहरुलाई आफूले भोट किन दिने त्यसबारे कुनै जानकारी नभएको समेत टिप्पणी गरिन् । उनले देशमा अझैपनि गरिब र अशिक्षितको संख्या धेरै रहेको भन्दै तिनीहरुलाई चाँडै राजनीतिक दलका उम्मेदवारहरुले आर्थिक प्रभावमा पार्न सक्ने औल्याइन् । उनले भनिन्,‘अहिले सत्तामा रहेका दलहरुले देशका नागरिक सचेत र शिक्षित भए भने सत्तामा बस्न नसकिने अवस्था देखेकाले नीतिगत रुपमा योजना बनाएर देशका जनतालाई गरिब बनाइएको हो ।’

प्रतिकृया