• ४ साउन २०८३, सोमबार
  • ९:५० बेलुका

पर्यटकको गन्तव्य बन्दै त्रिवेणी पाटन

प्रकाशित मिति

२०७९ आश्विन १६ गते, आईतवार ०८:४५

ललित विष्ट

१६ असोज २०७९, काठमाडौँ: सान्नीत्रिवेणी गाउँपालिका मुम्राको लेकाली क्षेत्रमा पर्ने त्रिवेणी पाटन। त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले कसलाई पो नलोभ्याउला र? यसले त मोहनी नै लगाउँछ। त्रिवेणी आउने पर्यटक यहाँ पुगेपछि ‘भूस्वर्गको’ अनुभूति गर्छन्।

Kamana Sewa

पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ। त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ।

Classic Tech Desktop

नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको जानकार बताउँछन्।

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। त्रिवेणी पाटन घुम्न वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ।

नजिकै रहेको बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेका छन्। उनीहरू पनि एकपटक त्रिवेणी पाटनमा पुगेरै जाने गरेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसीले बताए।

त्रिवेणी पाटनमा दुईवटा खोला छन्, गंगा र जमुना जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भने धार्मिक विश्वास रहेको बूढापाखा बताउँछन्। त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन्।

त्रिवेणी पाटननका जुनसुकै भागमा उभिएर हेर्दा पनि मनोहक प्रकृतिको बिपुल छटाले घेरेको पाइन्छ। करिब एक सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा, भेडा चराउन २२ घाँसे मैदान र तीन नदीको संगम रहेको पवित्र धाम, हिमशृंखलाले यसको महत्व झनै बढाएको छ।

यस पाटनको आकर्षण भनेको जंगली जनावर पनि हुन्। कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीयले बताएका छन्। जडिबुटीका लागि त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ। यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ। त्रिवेणी पाटन, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको छ।

पर्यटनका लागि त्रिवेणी पाटन आकर्षक गन्तव्य हो। यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणी सिमाना कालिकोट, सुदुरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, र डोटी जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन्।

बडीमालिका त्रिवेणीजस्ता पर्यटकीय क्षेत्रको प्रचार-प्रसार र विकासका लागि २०६४ सालमा बडिमालिका पर्यटन विकास समिति गठन भएको थियो। सिजनअनुसार पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको उचित प्रबन्ध छैन। यो क्षेत्रमा सबै सरोकारवालाको नजर पुगेको खण्डमा विदेशी पर्यटकलाई भित्र्याउन सकिने स्थानीय बताउँछन्।

प्रतिकृया