• २३ भदौ २०८३, मंगलबार
  • ११ः१९ बिहान

श्रीलंकामाथि नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

प्रकाशित मिति

२०७९ भाद्र २८ गते, मंगलवार ०६:३३

२८ भाद्र २०७९, काठमाडौँ : साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो। नेपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन्।

National Life

लगत्तै अर्को मिनेटमा सुरू लिम्बुले नेपालको अग्रता दोब्बर पारिन्। खेलको १७ मिनेटमा अमृत जैशीले नेपालका लागि तेस्रो गोल गरिन्। नेपालले सात मिनेटको अन्तरमा तीन गोल गरेपछि श्रीलंका दबाबमा आएको थियो। नेपालका लागि चौथो गोल दिपा शाहीले गरिन्। उनले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरिन्।


७७ मिनेटमा अमिसा कार्कीले अर्को गोल थपिन्। रेखा पौडेलको स्थानमा दोस्रो हाफमा मैदान छिरेकी अमिसाले उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। अमिसाले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैठौं गोल गरिन्। उनले एकल प्रयासमा श्रीलंकाका तीन डिफेन्डरलाई पार गर्दै उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल समूह विजेता बनेसँगै भुटान भने उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। यसअघि भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५(० गोलले पराजित गरेको थियो। समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ४-० को जित निकालेको थियो। अब सेमिफाइनलमा ‍नेपालले शुक्रबार भारत वा बंगलादेशसँग खेल्नेछ। समूह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगे पनि समूह विजेताको टुंगो लाग्न बाँकी छ।


भारत र बंगलादेश भोलि भिड्दैछ। हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ खेल्नेछ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनलमा पराजित भएको थियो।

प्रतिकृया