• १ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०९:३५

२७ भाद्र २०७९, काठमाडौँ : जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो। जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले बताइन्।

National Life

‘एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ। दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो। उहाँ नभएको समयमा हामीले पाँच जनाको शल्यक्रिया गरिसक्यौँ। सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन। अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो,’ उनले भनिन्। कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा लामाले बताइन्।


जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्। दश स्थानीय तह रहेको जिल्लामा विसं २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन्। जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन्। शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ।


राजधानी काठमाडौँ लगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तीमा जिल्लामा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ।

प्रतिकृया