• १८ भदौ २०८३, बिहीबार
  • ९ः१० राती

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल

प्रकाशित मिति

२०७९ श्रावण २७ गते, शुक्रबार ११:००

२७ साउन २०७९,काठमाडौं: चितवन जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा। प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो ।


सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएकी थिइन् । उनीबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो । अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । डा गिरीले भनिन्, ‘शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।’

Kamana Sewa

नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उनले यो निकै दुर्लभ समस्या भएको जानकारी दिइन् । उनको भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिने गर्दछ ।

Classic Tech Desktop

शिशुको माँसपेशी पूर्णरुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नुपरेको डा गिरीको भनाइ छ । उनले भनिन्, ‘धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाइटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।’


फुलेको आन्द्राको आठ सेन्टिमिटर काटेर पुन: जोडिएको जानकारी दिँदै डा गिरीले नीलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राखेको जानकारी दिइन् । उनले भनिन्, ‘बाहिर निकालेको आन्द्रामा कृतिम मलद्वार बनाइयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो ।’


दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृतिम मलद्वारसहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा गिरीले बताइन् । बयालिस दिन अस्पतालमा राखेर उपचारपछि उक्त शिशु अहिले घर लगिएको छ । शिशुको स्वास्थ्य राम्रो रहेको डा गिरीले जानकारी दिइन् ।


अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक चितवन मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । न्यौपानेले भने, ‘अब अस्पतालमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’

प्रतिकृया