• २० भदौ २०८३, शनिबार
  • १०ः१५ राती

हिमालयन र सिभिल बैंकबीच मर्जरः पुँजी साढे २० अर्ब, कर्मचारीको हैसियत बराबर

प्रकाशित मिति

२०७९ असार २९ गते, बुधबार ०६:२८

२९ असार २०७९, काठमाडौँ : हिमालयन बैंक र सिभिल बैंकबीच एक आपसमा गाभ्न-गाभिने प्रक्रियामा जान सहमति भएको छ । मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।

National Life

प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउनुहुनेछ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई राणापछिको महत्वपूर्ण भूमिका दिने सहमति भएको छ । हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । यो विषयमा सहमति जुट्न धेरै समय लागेको थियो ।


हिमालयनले सिभिललाई प्राप्ति गर्ने भएसँगै नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ । १००ः८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ । हिमालयनले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंकको पुँजी केही घट्नेछ । हाल ९ अर्ब ७ करोड रहेको चुक्ता पुँजी घटेर ७ अर्ब ३३ करोड ३४ लाख ३३ हजार रुपैयाँ कायम हुनेछ । नयाँ बन्ने हिमालयन बैंकको पुँजी साढे २० अर्ब कायम हुनेछ ।

Classic Tech Desktop

यस्तै, प्राप्तिपछि हिमालयन बैंकको कुल कर्जा लगानी २ खर्ब ४६ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ भने निक्षेप २ खर्ब ५६ अर्ब १ करोड ३२ लाख पुग्ने देखिएको छ । हाल हिमालयनको कुल कर्जा लगानी १ खर्ब ५८ अर्ब २८ करोड ९ लाख छ भने सिभिलको ८८ अर्ब ३९ करोड ९६ लाख ३४ हजार रुपैयाँ छ । हाल हिमालयनको निक्षेप संकलन १ खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ र सिभिलको ९० अर्ब ७० करोड ४० लाख ९९ हजार रुपैयाँ छ ।


यस्तै, नयाँ बन्ने हिमालयन बैंकको कुल शाखा कुल २२२ हुनेछन् । हाल हिमालयनको ८९ वटा र सिभिलको १३३ वटा शाखा छन् । हाल हिमालयनको १४२ एटीएम बुथहरु छन् । नयाँ बैंक बनेपछि कर्मचारी करिब २ हजार पुग्नेछन् । हाल हिमालयन बैंकमा १०१८ स्थायी कर्मचारी छन् भने सिभिलमा ९५६ जना स्थायी कर्मचारी छन् । करार तथा अस्थायी कर्मचारी गरेर २ हजार बढी कर्मचारी बैंकमा हुनेछन् ।

प्रतिकृया