यो कांग्रेसको एकलौटी सरकार होइन, चाहेर पनि धेरै काम गर्न सकिँदैनः प्रधानमन्त्री देउवा
प्रकाशित मिति
२०७९ जेष्ठ २९ गते, आईतवार ०४:४४
२९ जेठ २०७९ काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। प्रधानमन्त्री देउवाले आइतबारबाट काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘एउटा कुरा के बुझ्नुपर्यो भने तपाईंहरुले, यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन। अरु कतिपय तपाईंहरुले अति महत्वपूर्ण कुराहरु उठाउनुभएको छ। कतिपय बजेटमा आएका छन्। छैनन् भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौँ।’
उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए। प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताए। पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए।
प्रधानमन्त्री देउवाले थपे, ‘कोभिड १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ। सरकारले कोभिड १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियानलगायतका कार्यक्रमहरुले हाल कोभिड नियन्त्रणमा आए पनि रुस–युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गज्रिरहेको छ। यसले श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ। यस चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनःस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ।’
प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए। ट्रेड युनियन कांग्रेसलगायत मुलुकका अन्य ट्रेड युनियनहरुले श्रमिकहरुको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील रहेको उनले बताए। प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए।
प्रतिकृया