वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी
प्रकाशित मिति
२०७९ जेष्ठ ९ गते, सोमबार ०८:३५
९ जेठ २०७९, काठमाडौँ : वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको पछिल्ली विवरणअनुसार ७७ हजार ५७७ मत गनिसक्दा कांग्रेसका सिंहले सो मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्धन्द्धी निवर्तमान मेयर एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विजयकुमार सरावगी १९ हजार ६७९ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाका गिरीश गिरीले २ हजार ८५७ मत पाएका छन् । उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले ६५६८ मत प्राप्त गरेका छन् ।
राप्रपाका विना जयसवालले ४८३५ र रम्भा मिस्राले ३४५८ मत पाएका छन् । हालसम्म २३ वडाको मतगणना सकिएको छ । मधेस प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई र नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको छ।








प्रतिकृया