• १८ असोज २०८३, आइतबार
  • ८ः३८ राती

मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०६:२५

३० बैशाख २०७९, काठमाडौँ : लामो पतिक्षाको दिन आइपुगेको छ। शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकसाथ मतदान हुँदैछ। दलको प्रचार दुई दिनदेखि रोकिएको छ। एक दिन मतदान गरेर पाँच वर्षलाई नेतृत्व चयन गर्ने जिम्मेवारी आम मतदाताको हातमा आइपुगेको छ।

National Life

यस्तो महत्वपूर्ण दिनलाई कसरी सदुपयोग गर्ने भन्ने महत्वपूर्ण जिम्मेवारी आम मतदातामा रहेको छ। मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।


मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन। यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ। आयोगले मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ। मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने पाए पनि यो चिह्नमा मत गर्नुपर्छ भनेर कसैलाई पनि भन्न पाइने छैन।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख गरेको छ। कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ। छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ।


मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्। शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकसाथ देशभर मतदान हुँदैछ।

प्रतिकृया