राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति
प्रकाशित मिति
२०७८ चैत्र ३० गते, बुधबार ०३:४०
३० चैत्र, २०७८ काठमाडौँ : राप्रपा नेपालका उम्मेदवारले आगामी स्थानीय तह निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले बताए ।
सहमतिअनुसार देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाइनेछ । यस्तै राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारहरूलाई सघाउनेछ भने राप्रपा नेपालका उम्मेदवारहरू भएको ठाउँमा एमालेले उम्मेदवार नउठाइ सहयोग गर्ने भएको छ ।

एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफनो पार्टी केन्द्रमा पठाउने गरी सहमति भएको श्रेष्ठले बताए ।

सहमतिपत्रमा एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री श्रेष्ठले हस्ताक्षर गरेका छन् । आज भएको वार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो ।





प्रतिकृया