एमसीसबारे भएका सबै सम्झौता उपलब्ध गराउन नेता खनालको माग
प्रकाशित मिति
२०७८ फाल्गुन १५ गते, आईतवार ०४:०७

१५ फागुन २०७८, काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । एमसीसीबारे १२\१३ वटासम्म सम्झौता भएको बताउँदै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा उक्त माग गरेका हुन् ।
एकीकृत समाजवादीका सांसद खनालले भने, ‘सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’
सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन् । उनले भने, ‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो । म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु ।’
अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइने भन्दै खनालले भने, अहिले जस्तो खालको सम्झौता गरिएको छ, त्यास शर्तशर्तले बेरिएको छ । तीन शर्तहरु अमान्य छन् ।’
उनले अघि भने, हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् । तर शर्तहरु राखेर, नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन ।’
प्रतिकृया