• १९ असोज २०८३, सोमबार
  • ५ः३० बेलुका

स्वतन्त्रताका लागि जीवन आहूती दिने शहीदको सम्झनाः विभिन्न कार्यक्रम गरी मनाइँदै शहीद दिवस

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०९:१५

१५ माघ २०७८, काठमाडौं :  आज माघ १६ अर्थात सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।​

National Life

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।


स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आज सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।


कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौँ महानगरपालिकाले गरेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।


वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।


पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।


विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । सहिदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

प्रतिकृया