प्रदेश २: स्थायी राजधानी जनकपुर तोकियो
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०४:२७

३ माघ २०७८, काठमाडौं : प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।
सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।
दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो । जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।
प्रतिकृया