चिसो एक, समस्या अनेक
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०५:१५
सागर गुरागाईं,२९ पुस २०७८, काठमाडौँ : राजधानीमा दिन प्रतिदिन चिसो बढिरहेक छ । यसले सर्वसाधारणको दैनिकीलाई नै असहज बनाइरहेको छ । मानिस चिसोबाट जोगिन यथाशक्य प्रयास गरिरहेका छन् तर यहाँका निजी विद्यालयलाई भने बढिरहेको चिसोले छोएकै छैन । त्यसैले ती विद्यालयले झिसमिसे बिहानीदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन ।
हेर्दा सामान्य लागे पनि बढिरहेको चिसो मौसममा यसरी बिहानी कक्षा सञ्चालन गरिनुले बालबालिकामा गम्भीर समस्या ननिम्त्याउला भन्न सकिँदैन । “बिहान अँध्यारैमा स्कुल गएको छोरो साँझ पर्न लाग्दा बल्ल घर फर्कन्छ । खानको ठेगान छैन । हातका औँलाहरू पनि चिसोले सुन्निएका छन् । अहिले त खोकीले सताएको छ । जाडो बढ्दो छ, बिहान पाँच पनि नबज्दै उठेर छोराछोरीका लागि खाना तयार गरिदिनुपर्छ ।

छोराछोरीको त बेहालै भएको छ, यो कहीँ नभाको पढाइले । बिहान अँध्यारैमा जान्छन् र बेलुकी अँध्यारो हुने बेलामा फर्कन्छन् । अहिले राजधानीका अधिकांश निजी विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावक यसरी नै चिन्तित बनिरहेका छन् । निजी विद्यालयले जिल्लास्तरीय परीक्षा एवं माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)लाई ध्यानमा राखेर कक्षा ८ देखि बिहान अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस्तो कक्षा बालबालिकाका लागि थप बोझ मात्र हुने भए पनि पुस माघको जाडोमा यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । उनीहरुमा रुघाखोकी, निमोनिया, श्वासप्रश्वासको समस्या, बाथजस्ता समस्या देखिने गर्छन्।

बढ्दो जाडोमा वयष्क त एकाबिहानै मर्निवाक आदिमा बाहिर निस्कन छाडेर घरभित्रै न्यानो गरी बस्दै गरेको अवस्थामा बालबालिका उज्यालो नहुँदै विद्यालयको पोसाक लगाएर विद्यालयका चिसा कोठामा बसेर तीन-चार घण्टा पढ्नु भनेको सामान्य कुरा होइन । शिक्षण सिकाइ भनेको बालबालिकाको रुचि र क्षमता अनुसार स्वतस्फूर्त हुनुपर्नेमा हामीकहाँ त्यो अभिभावक तथा विद्यालयको चाहनाअनुरुप बाध्यकारी हुने गर्छ ।
त्यसो त हाम्रो शिक्षा पद्धति नै गलत देखिन्छ । हामीकहाँ व्यावहारिक शिक्षा होइन, सैद्धान्तिक शिक्षा दिइन्छ । त्यसैले त हाम्रा बालबालिका १२ कक्षा पास गर्नासाथै विदेश पलायन हुने गर्छन् । निर्धारित पाठ्यपुस्तक रटाउने अनि परीक्षाका नाममा दुइ-तीन घण्टा लेखेको भरमा एउटा विद्यार्थीको समग्र मुल्याङ्कन गरिनु आफैँमा हास्यास्पद देखिन्छ किनभने यसले हरेक बालबालिकाभित्र लुकेको भिन्न रुचि र क्षमताको प्रतिविम्बन गर्न सक्दैन । पढाइको चर्को दबाब अहिले निजी विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थीले खेपिरहेका देखिन्छन् ।
एकातिर अभिभावक उनीहरुलाई राम्रो नतिजा ल्याउन दबाब दिइरहेका हुन्छन् भने अर्कातिर विद्यालय प्रशासन र शिक्षकबाट पनि उनीहरुले त्योभन्दा बढी दबाब महसुस गरेका हुन्छन् । गृहकार्य नगर्ने विद्यार्थी कक्षामा सजायको, भागिदार हुने भएकाले उसले रातको समय त्यसका लागि खर्चिने गर्छ । परीक्षामुखी पढाइमा एकोहोरो भएर लागिरहँदा उसको सिर्जनशीलता हराउने गर्छ । राम्रो भौतिक पूर्वाधार नहुनु, उपयुक्त खानपान एवं स्वस्थकर वातावरणको अभावका कारण विद्यार्थीको स्वास्थ्य बिग्रने गरेको देखिन्छ ।
हाल उपत्यकाका निजी विद्यालयले जाडो बिदाको समय छोट्याउँदै गएकाले पनि बालबालिका चिसोले प्रभावित भएको देखिन्छ । कतिपय विद्यालयमा त बिदा नै दिइँदैन । कोभिडको खतरा रहिरहेकै अवस्थामा त यसले थप जटिलता निम्त्याउन सक्छ । बढ्दो चिसोलाई ध्यानमा राखेर विद्यालयले बिहानी कक्षा केही समयका लागि बन्द गर्न ढिलाइ गर्नुहुँदैन किनभने बालबालिकाको स्वास्थ्यभन्दा शिक्षा ठूलो होइन ।




प्रतिकृया