ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी, निर्वाचन नै हुने सम्भावना
प्रकाशित मिति
२०७८ पुष २२ गते, बिहीबार ११:४९
२२ पुस २०७८, काठमाडौं : नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् ।
जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।
अध्यक्षका आकांक्षीमध्ये कटुवाललाई प्रदेश सांसद अमिरबाबुर गुरुङको साथ रहेको छ भने हर्कबोल राईलाई संघीय सांसद यज्ञराज सुनुवारको साथ छ । कटुवाल हाल एमाले जिल्ला कमिटीका सचिव हुन् ।
ओखलढुंगा एमालेमा प्रदेश सांसद गुरुङ र सुनुवार गरी दुई धार छ । सुनुवार एमाले विभाजन नहुँदा माधव नेपाल पक्ष भनेर चिनिएका हुन् भने गुरुङ वामदेव गौतम हुदै ओली खेममा पुगेका हुन् । गुरुङलाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समेत साथ रहेको बताइन्छ ।
अध्यक्षका आकांक्षी मध्येका अर्का नेता सीताराम गुरुङ जनप्रतिनिधि समेत भएर काम गरेका र लगातार १९ बर्षदेखि पार्टी कमिटीमा रहेर जिल्लामा एमालेको संगठन विस्तार गर्नेमध्येका मानिन्छन् ।








प्रतिकृया