• 7:38 pm

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:२१

२१ पुस २०७८, काठमाडौं : शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि एक विद्यालय बन्द भएको छ । कोरोनाका कारण दाङको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।


एन्टिजेन परीक्षण गर्दा विद्यालयका ६ शिक्षक र ६ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।


उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार लमंगलबारदेखि ५ दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको हो । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’


त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए ।


संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिकृया