• २६ भदौ २०८३, शुक्रबार
  • ५ः०७ बिहान

ललिता निवास प्रकरणमा शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:४८

२० पुस २०७८, काठमाडौँ : ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ। विभागले अभियुक्त ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल र सान्तु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश छलेको भन्दै उच्च अदालत पाटनमा पाँच जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो।

National Life

विभागले आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठलाई समेत विपक्षी बनाएको छ।उनीहरुले १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व छली गरेको आरोपमा विभागले मुद्दा हालेको हो। उनीहरुसँग छली गरेको राजस्व रकम बराबरकै बिगो असुल र ३ वर्ष जेल सजायको समेत माग गर्दै अदालतमा विभागले मुद्दा दर्ता गरेको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा मुख्य अभियुक्त शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशमा हाल थुनामा छन्।


उक्त कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर नतिरी राजश्व छलेको विभागद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। उक्त फर्ममा राजस्व चुहावटमा सहयोग गरेकोले ऐनको साविक दफा २३ को उपदफा २ तथा पहिलो संशोधन समेत दफा २३ को उपदफा १को देहाय घ बमोजिम हुने सजायमा दफा २३ उपदफा ३ बमोजिम प्रतिवादी राजेश्वार एण्ड कम्पनीका प्रोपाइटर लेखापरीक्षक राजेश्वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी जम्मा १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिकृया