९० वर्षमाथिका नागरिक र रातो कार्ड भएकालाई घरमा नै भत्ता पुर्याइन्छः मन्त्री रेग्मी
प्रकाशित मिति
२०७८ पुष ८ गते, बिहीबार ०४:२८
८ पुस २०७८, काठमाडौं: महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथिका जेष्ठ नागरिक र रातो कार्ड भएकालाई घरमा नै भत्ता पुर्याउने व्यवस्था गरिने बताएकी छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्षमाथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पुर्याउने बताएकी हुन् ।
९० वर्षमाथि पुगेका जेष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने बताइन् ।

त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पुर्याउने उनले बताइन् । उनले भनिन्, ‘जेष्ठ नागरिकहरु जो ९० वर्ष माथि पुग्नुभयो । जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ । उहाँहरु बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न । त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न । त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पु(याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ । संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ । त्यस्तै प्रकारले यातायातमा पनि ५० प्रतिशत भाडा छुट छ, अपांगता भएका व्यक्तिलाई र जेष्ठ नागरिकहरुलाई तर त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसमा कसरी कार्यान्वयन गराउन सकिन्छ, ति कुराहरुमा पनि हामी लागिरहेका छौँ ।’

उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताइन् ।




प्रतिकृया