निमाविको पदपूर्ति थाल्न शिक्षामन्त्रीको निर्देशन
प्रकाशित मिति
२०७८ पुष ५ गते, सोमबार ०४:५४
५ पुस २०७८, काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार शिक्षा सेवा आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।
‘देशभरका विद्यालयमा शिक्षकहरुको अभाव छ,’ मन्त्रीले भने, ‘यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’
शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिए । ।
‘५ बर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ मन्त्री पौडेलले भने, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस् ।’
१३ हजार ९३ प्राविका शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे ।






प्रतिकृया