एक मतले नेपालको भविष्य परिवर्तन हुने छ : डा कोइराला
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०२:३६

२८ मंसिर २०७८, काठमाडौं: काँग्रेस सभापतिका उम्मेदवार डा शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको एक भोटले नेपालको भविक्ष्य परिवर्तन हुने बताएका छन् । महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणमा जाने चुनावमा प्रतिस्पर्धा गरिरहेका उनले उक्त अभिब्यक्ति दिएका हुन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईहरु आफै नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’
उनले आफूले नेपाली काँग्रेसको सभापतिमा विजयी भए काँग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरू गरेको नेपाली काँग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण पनि गरे ।
उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहुति गर्न चाहन्छु ।’
दोस्रो चरणमा उनले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न लागेका छन् । पहिलो चरणमा ८२ मत कम ल्याएका देउवाले आफूलाई सुरक्षित गर्न प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाइसकेका छन् ।
डा कोइरालाले दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्वीकार्न तयार रहेको बताएका छन् ।
प्रतिकृया