पौडेल समूहको जुट्ला त सहमति
प्रकाशित मिति
२०७८ मंसिर २१ गते, मंगलवार ०३:१३
२१ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पक्षमा सभापतिको साझा उम्मेदवार चयनका लागि केन्द्रीय सदस्यहरू सहितको बैठक सुरु भएको छ । सभापतिका आंकाक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले आज केन्द्रीय सदस्यहरूसँग छलफल डाकेका हुन् ।
चाक्सीबारीस्थित प्रकाशमानको निवासमा सुरु भएको बैठकमा प्रदेशमा संस्थापन समूहसँग भएको चुनावी हारको समीक्षा पनि हुने नेताहरूले बताएका छन् । सभापतिका चार आकांक्षीहरूबीच सोमबार पनि साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफलमा सहमति नजुटेपछि आज केन्द्रीय सदस्यहरूसहितको बैठक बसेको हो ।
आजको बैठकमा पनि साझा उम्मेदवारबारे नेताहरु इमान्दार नभए मतदानमार्फत टुंगो लगाउन युवा नेताहरूले दबाब दिइरहेका छन् । आजको बैठकले निर्णय नदिए जिल्ला सभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला राखेर निर्णय लिने केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।
बैठकअघि उनले भने, ‘नेताहरूको बैठकले सभापतिको साझा उम्मेदवार तय नगरेको खण्डमा हामी युवाहरूले दबाबसहितको सुझाव दिनेछौँ । हाम्रो सुझाव मनन नभएमा मतदानको विकल्पमा जाने गरी पनि छलफल भएको छ ।’






प्रतिकृया