• २० असोज २०८३, मंगलबार
  • ८ः२३ बिहान

१७ दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित विदेशी,दुई डोज खोप लाएका थिए, रिपोर्ट नेगेटिभ थियो

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:२४

सरकारको तयारी के छ ?

National Life

२० मंसिर २०७८, काठमाडौं : १७ दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित विदेशी, दुई डोज खोप लाएका थिए, रिपोर्ट नेगेटिभ थियोत्रिभुवन विमानस्थलको फाइल फोटो । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुई अफ्रिकी नागरिक १७ दिनअघि नै नेपाल प्रवेश गरेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको यात्रा विवरणअनुसार ती दुवै जना ३ मंसिरमा नेपाल आइपुगेका थिए ।


ओमिक्रोन फेला परेको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने, ‘३ मंसिर २०७८ मा नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । ६६ वर्षीय नागरिकको सम्पर्कमा रहेका ७१ वर्षीय व्यक्तिमा कोभिडसँग मिल्ने लक्षण देखिएपछि परीक्षण गर्दा पोजिटिभ आएको थियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूको पीसीआर पोजिटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । ती दुई नागरिकको नाम र देश भने मन्त्रालयले सार्वजनिक गरेको छैन । ‘देशदेशका बीचमा विभेद हुन सक्छ । नाम र देश सार्वजनिक गरिएको छैन’, सहप्रवक्ता अधिकारीले भने ।


उनीहरूको सम्पर्कमा रहेका अन्य ६६ जनाको रिपोर्ट भने नेगेटिभ आएको अधिकारीले जानकारी दिए । हालसम्म ३६ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । र, नेपाल यो सूचीमा ३६औँ नम्बरमा परेको छ ।


सरकारको तयारी के छ ?

नयाँ भेरियन्ट भेटिएसँगै मन्त्रालयले नियन्त्रणका लागि तयारी थालेको छ । मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, ‘सिमानाकामा विशेष सतर्कता अपनाइएको छ । नेपाल प्रवेश गर्नुअघि अनिवार्य नेगेटिभ पीसीआर रिपोर्ट, लक्षण तथा चिह्नको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेन परीक्षणमा पोजिटिभ आएमा थप नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेलगायतका काम थालिएको छ ।’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले ओमिक्रोन भेरियन्ट पुष्टि भएका देशहरूबाट नेपाल प्रवेश अनुमति नदिने व्यवस्था गरिएको छ । संक्रमितहरूको सबै सरकारी अस्पतालमा निःशुल्क उपचार गरिनेछ ।


५० शय्याका अस्पतालहरूमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्था गरिएको तथा अक्सिजन प्लान्ट स्थापना गर्ने काम भइरहेको उनले बताए । २०० शय्याका अस्पतालमा अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटरको व्यवस्था गरिएको छ ।

प्रतिकृया