यि हुन् राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन
प्रकाशित मिति
२०७८ मंसिर १९ गते, आईतवार १०:४४
१९ मंसिर २०७८ काठमाडौं : लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई पार्टीको एकता महाधिवेशनबाट अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । ५६ वर्षीय लिङ्देन राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका छन् ।
झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चामा आएका थिए । लिङ्देन राप्रपाको अध्यक्ष पद हात पारेर पुन एकपटक चर्चा बटुल्न सफल भएक छन् ।
२०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा पिता मानप्रसाद र माता धनकुमारीका सुपुत्रका रुपमा जन्मिएका उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष समेत बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।
लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् ।
स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि।सं। २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।
०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी पराजित भएक थिए । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि उनी नेपाली राजीितिमा चर्चामा आएक थिए ।
हिरासदमा लिङ्देन
राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए । ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् ।
झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका उनी युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।








प्रतिकृया