कामको मूल्याङ्कन गर्दै उदयपुर सिमेन्टले गर्यो ८५ जना कर्मचारीको स्तरवृद्धि
प्रकाशित मिति
२०७८ मंसिर ७ गते, मंगलवार ०४:५४
७ मंसिर २०७८, काठमाडौं : उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले कर्मचारीहरुको कामको सही मूल्याङ्कन गर्दै एकैदिन ८५ जनाको स्तरवृद्धि गरेको छ ।
उद्योगले तृतीय तहका ८५ जनालाई चौंथो तहमा स्तरवृद्धि गरेको उदयपुर सिमेन्ट उद्योगले जानाकारी दिएको छ । । विगतमा स्तरवृद्धिका लागि पटक पटक डेलिगेशन, आन्दोलन, धर्ना गर्नुपथ्र्यो तर, यसपटक कर्मचारीहरुको मूल्याङ्कन गरी एकैदिनमा ८५ जना कर्मचारीको स्तरवृद्धि गरिएको छ ।

हाल कर्मचारी तथा मजदुरहरुलाई समयमा तलब, ओटी तथा विभिन्न सुविधाहरु उपलब्ध हुने उद्योग प्रशासनको दावी छ । साथै सरुवा, बढुवा तथा अन्य सेवा सुविधाको हकमा पनि सबैलाई समान ब्यवहार गरिएको महाप्रवन्धक न्यौपानेले बताए । उद्योगका अनुसार यस आर्थिक वर्षमा ५३३ दरबन्दी मध्ये ३१६ स्थायी र ज्यालादारी तथा करारमा सयजना गरी ४१६ जना जनशक्ति रहेका छन् ।

उद्योग र मजदुर तथा कर्मचारीको हितलाई ध्यानमा राख्दै विमाबाट प्राप्त हुने कमिसन रकम दुई लाख २५ हजार कर्मचारी कल्याण कोषको छुट्टै खातामा जम्मा सुरु गरेको छ । कोषलाई वृद्धि गरिने उद्योगको योजना छ ।
उद्योगको यस आर्थिक वर्षको उत्पादन तथा विक्री वार्षिक बजेट लक्ष्य अनुसार रहेको जनाइएको छ । लागत खर्च र अन्य खर्च मितव्ययिता अपनाइएकाले लक्ष्य पूरा गर्दै यसै वषैदेखि उद्योग नाफामा जानसक्ने प्रवक्ता पोखरेलको भनाइ छ ।




प्रतिकृया