हत्यारालाई रिहा गर्ने अमेरिकी अदालतको आदेशप्रति बाइडेनले पोखे आक्रोश
प्रकाशित मिति
२०७८ मंसिर ४ गते, शनिबार ०४:३९
४ मंसिर २०७८, काठमाडौं : १८ वर्षका युवा कायली रिटनेहाउसलाई सफाई दिने अदालतको निर्णयले अमेरिकी राष्ट्रपति जो बाइडेन आक्रोशित भएका छन् । गत वर्ष विस्कन्सिनमा चलेको नस्लिय हिंसा विरुद्धको प्रदर्शनका दौरान यी किशोरले दुई जनालाई गोली हानेर मारेका थिए ।
बाइडेनले विज्ञप्ति निकाल्दै आफ्नो आक्रोश जताएका हुन् । यसअघि भने उनले अदालतको फैसलाको सम्मान गर्ने टिप्पणी दिएका थिए । कायली पूर्व पुलिस हुन् । २५ अगस्ट २०२० मा केनोशमा शहरमा चलेको प्रदर्शनका दौरान उनले दुई मानिसलाई गोली हानेर मारेका थिए ।
३६ वर्षका जोसेफ रोजनबम, २६ वर्षका एन्थनी हुबर र २८ ग्रासक्रुएट्समाथि गोली चलाएको उनले स्वीकारेका थिए । यस घटनामा ग्रासक्रुएट्स गम्भीर घाइते भए भने दुईजनाको मृत्यु भयो । आफुले आत्मरक्षाका लागि यस्तो कदम चालेको कायलीको दाबी थियो ।
चुनाव प्रचारका दौरान बाइडेनले आफ्नो ट्विटर एकाउन्टमार्फत एक ट्वीट गरेका थिए । जसमा उनले कायली श्वेत सर्वोच्चतावादी संगठनसँग जोडिएको हुनसक्ने संकेत गरेका थिए । यद्यपि, यसबारे उनले कुनै पनि प्रमाण दिएका थिएनन् ।
अदालतको फैसलापछि मिडियाले बाइडेनलाई उनी आफ्नो मान्यतामा अडिग छन् वा छैनन् भन्ने विषयमा प्रश्न राखेको थियो । ‘म अदालतको फैसलालाई सम्मान गर्छु । न्याय प्रणालीले काम गर्छ र हामीले यसको पालना गर्नुपर्छ,’ बाइडेनको प्रतिक्रिया थियो ।
यद्यपि अहिले बाइडेनको फरक बयान आएको छ । ‘केनोशा घटनामा फैसला आएको छ । मसहित धेरै अमेरिकी नागरिकहरु चिन्तित र आक्रोशित छन् । तर, हामीले यो स्वीकार्नुपर्छ कि अदालतले आफ्नो फैसला सुनाइसकेको छ,’ उनले भने ।
२०२० मा अमेरिकाका विभिन्न राज्यमा ‘ब्ल्याक लाईभ्स म्याटर’ नाममा रंगभेदविरुद्ध ठूलो प्रदर्शन गरेको थियो । जर्ज फ्लोइड नामका एक अश्वेत पुरुषलाई प्रहरीले घाँटी थिचेर मारेपछि यो आन्दोलन चर्किएको थियो ।
( एजेन्सीको सहयोगमा )








प्रतिकृया