संखुवासभा कांग्रेसका सभापति दीपक खड्काको स्पष्टीकरणः शेखर कोइरालाको पत्रकार सम्मेलन मैले भाँडेको होइन, शशांक र शेखरबीचको सहमति मैले कसरी भाँड्न सक्छु ?
प्रकाशित मिति
२०७८ मंसिर २ गते, बिहीबार ११:४१
२ मंसिर, २०७८ काठमाडौँ : नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले हिजो हुन लागेको शेखर कोइरालाको पत्रकार सम्मेलन आफूले नभाँडेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने, “कांग्रेस महामन्त्री शशांक कोइरालाले धेरै लामो समयदेखि संखुवासभा आउने भन्नुभएको थियो, हिजो संयोग पर्यो । पार्टी बैठक पनि थियो । हामी सँगै आयौं । शेखर कोइराला र शशांक कोइरालाको पत्रकार सम्मेलनबारे मलाई थाहा थिएन ।”
हिजो पत्रकार सम्मेलन गरेर शेखरको सभापति उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा तपाईंले तोडिदिनुभयो भन्ने आरोप छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा सभापति खड्काले भने, “उहाँहरुबीच त्यस्तो सहमति भएको थियो भने अब पनि भइहाल्ला नि । कोइराला परिवारको सहमति मैले कसरी तोडिदिन सक्छु र ?”
शशांक कोइरालाले तपाईंलाई यसबारे केही भन्नुभएन भन्ने अर्को प्रश्नमा उनले थपे, “उहाँले गफगाफ र भेटघाट भएको हो, नेतृत्वको विषयमा सहमति भएको छैन भन्नुभएको छ । उहाँले त आफैं उठ्ने बताउनुभएको छ । जिल्ला अधिवेशन सकिएपछि नेताहरु बसेर साझा उम्मेदवारको टुंगो लगाउने कुरा छ । त्यो कति सम्भव छ, हामीले त सुझाव दिने मात्र हो ।”
कोइराला परिवारभित्र एकले अर्कालाई मनाउने कोसिस भइरहेको उनले खड्काले बताए । उनले भने, “कोइराला परिवारका कतिपय बैठकमा म पनि गएको छु । उहाँहरुले एकले अर्कालाई मनाउने कोसिस गर्नुभएको छ । शेखर दाइलाई शशांकले समर्थन गर्न सक्नुहुन्छ, शेखरले शशांकलाई पनि समर्थन गर्न सक्नुहुन्छ ।
सभापतिमा उहाँहरुबीच मात्र सहमति भएर पुग्दैन, रामचन्द्र, प्रकाशमान दाइहरु पनि एकजुट हुनुपर्यो । अब पारिवारिक र सामूहिक रुपमा छलफल होला । चार जनामध्ये एक जना उम्मेदवार हुनुहोला ।”








प्रतिकृया