• १९ असोज २०८३, सोमबार
  • १०ः३४ राती

‘इमर्जेन्सी ल्यान्डिङ’ भएको जहाजबाट यात्रुहरू भागेपछि‘…

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०३:४६

२१ कार्तिक, २०७८ एजेन्सी : युरोपेली मुलुक स्पेनमा एउटा अनौठो घटना भएको छ। अफ्रिकी मुलुक मोरोक्कोबाट टर्कीका लागि उडेको एयर अरेबिया मारोकको हवाइजहाजले शुक्रबार साँझ स्पेनिस टापु मालोर्काको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुमति माग्यो।

National Life

जहाजभित्र यात्रुलाई गम्भीर स्वास्थ्य समस्या आएको उल्लेख गर्दै पाइलटले अनुरोध गरेपछि विमानस्थलका अधिकारीहरूले अवतरणको अनुमति दिए। जहाज अवतरण भएपछि बिरामी भनिएका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल लगियो। डाक्टरहरूले उनलाई खासै ठूलो समस्या नभएको भन्दै केहीबेर राखेर डिस्चार्ज गरिदिए। न्युयोर्क टाइम्सका अनुसार त्यतिञ्जेल जहाजभित्र रहेका अरू यात्रुले भने हंगामा गरिसकेका थिए।


उनीहरू जहाजबाट बाहिर निस्किएर विमानस्थलको पर्खाल नाघेर भागिसकेका थिए। बिरामी भनिएका यात्रुसँगै अस्पताल गएका उनका साथी पनि अस्पतालबाट भागेको स्पेनका अधिकारीहरूले जनाएका छन्। बिरामी यात्रुलाई जहाजमा ल्याउँदा अरू भागिसकेको थाहा पाएपछि विमानस्थलका अधिकारी र चालक दलका कर्मचारी तनावमा परेका थिए। विमानस्थल केही घन्टा बन्द गरिएको थियो। दर्जनौं फ्लाइटलाई डाइभर्ट गरिएको थियो। जहाजमा भएका यात्रु भागेपछि बिरामी परेका भनिएका यात्रुलाई प्रहरीले हिरासतमा लिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

स्पेनमा पुग्नका लागि उनीहरू सबैले मिलेर बिरामी हुने योजना बनाएका थिए कि थिएनन् भन्ने प्रष्ट भइसकेको छैन। केही घन्टा उनीहरूको खोजी गरे पनि फेला नपरेपछि उपलब्ध यात्रु बोकेर जहाज इस्तानबुलका लागि उडेको थियो। भागेका २४ मध्ये अहिलेसम्म १२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी १२ जनाको खोजी गरिरहेको छ।


मोरोक्कोबाट स्पेननजिकै छ। आप्रवासीहरू ज्यान जोखिममा राखेर समुद्री बाटो हुँदै स्पेन पुग्न प्रयास गरिरहेका हुन्छन्। त्यस्ता प्रयासलाई रोक्न स्पेन सरकारले विभिन्न तरिका अपनाउँदै आएको छ। जहाज नै इमर्जेन्सी ल्यान्डिङ गराए स्पेन छिर्ने यो तरिका भने नौलो हो।

प्रतिकृया